सुपरस्टार फुटबलर रोनाल्डोलाई प्रतिवर्ष ७५ मिलियन डलर पारिक्ष्रमिक प्रस्ताव

साउदी अरेबिया := अरबी क्लब अल नासरले पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई प्रतिवर्ष ७५ मिलियन डलर प्रस्ताव राखेको छ । क्लबविहीन रहेका रोनाल्डोले अहिलेसम्म अरबी क्लब अल नासरको प्रस्तावबारे केही प्रतिक्रिया जनाएका छैनन् ।

युरोपियन क्लबहरूले कुनै चासो नराख्दा रोनाल्डोले राम्रो प्रस्ताव आउने क्लबलाई पहिलो प्राथमिकतामा राखेका छन् । २२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पोर्चुगल मोरक्कोसँग १–० ले स्तब्ध भएको थियो ।

मोरक्कोसँग पराजित भएसँगै रोनाल्डोको पाँचौँ प्रयासमा विश्वकप जित्ने सपना अधुरो भयो । त्यसयता रोनाल्डो परिवारका साथ साउदी अरेबियामै छन् । डेढ महिनाअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता तोडेका रोनाल्डो फ्री एजेन्टका रूपमा छन् । यसबीचमा उनले युरोपका विभिन्न क्लबसँग वार्ता गरेका थिए ।

तर, कुनै पनि युरोपियन क्लबले चासो नदेखाउँदा उनी अरबी क्लबसँग नजिक भएको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।रोनाल्डोले आधिकारिक रूपमा केही प्रतिक्रिया नदिए पनि अरबी क्लब अल नासरले उनको मेडिकल परीक्षणको दिन तोकिसकेको छ । सिबिएस स्पोर्टस्का अनुसार केही दिनभित्र रोनाल्डो र अल नासरबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

रोनाल्डोको एजेन्ट जर्जे मेन्डेसले आफ्ना क्लाइन्टलाई युरोपियन क्लबमा पुर्‍याउन नसक्दा अरबी क्लबसँग वार्ता गरेको जनाएका छन् । विश्वकपलगत्तै रोनाल्डो र उनको परिवारलाई बसोवासको प्रबन्ध साउदी क्लबले गरेको छ । सम्भवतः जनवरीको खेलाडी किनबेचमा रोनाल्डो अल नासरको जर्सीमा देखिन सक्ने सिबिएस स्पोर्टस्ले जनाएको छ ।

अल नासरले रोनाल्डोलाई प्रतिसाता १० लाख डलर पारिश्रमिक दिन तयार छ । रोनाल्डो प्रतिसाता पारिश्रमिक बढाउने योजनामा छन् । यसैबीच, साउदी क्लबले रोनाल्डोलाई सात वर्षको सम्झौता गर्न सक्छ । रोनाल्डोले तीन वर्ष अल नासरको जर्सीमा खेल्नेछन् ।

त्यसपछिको चार वर्ष रोनाल्डोले साउदी अरेबियाको फुटबल विकासमा काम गर्नेछन् । सन् २०३० को फिफा विश्वकप फुटबल प्रतियोगिताको दाबेदारी साउदी अरेबियाले गर्दै छ । त्यसको तयारीका निमित्त पनि रोनाल्डोलाई सम्झौता गर्ने पक्षमा साउदी क्लब छ ।