विदेश जानेहरुले पासपोर्ट लिन लाइन लाग्न नपर्ने, प्रचण्ड सरकारको प्रवक्तामा विष्णु पौडेल।

काठमाडौं := नेपाल सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनुभएको छ । मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिएको थियो । तर, लामिछानेले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।