बढी मसला हाले खाना मिठो हुन्छ भन्ने मानिसहरुको बुझाइ नै गलत।

[ डा. रामदेव पण्डित ] 

काठमाडौं:= विभिन्न चाडपर्वमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम नेपाली मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्‍याउँछ।

अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको वास्तविकता खोजी गर्ने प्रयत्न गर्दै यो आलेख तयार गरिएको छ।

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध र स्वाद बढाउन मदत गर्छ भनी परिभाषित गरेको छ। भूगोल, हावापानी, जलवायु र स्वादज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे नेपाली समाज निकै जानकार छ। अझ मसलालाई औषधिको रूपमा, सौन्दर्य सामग्री बनाउन र प्रयोग गर्न पश्चिमी समाजभन्दा नेपाली समाज निकै अगाडि छ।

मसला तथा जडीबुटीको भण्डारका रूपमा नेपाल एवं भारत विश्व प्रसिद्ध छ। यहाँ जिरा, जिम्बु, मरिच, अलैंची, अदुवा, पिप्पली, बेसार, खोर्सानी, ल्वाङ, इलायची, लसुन, प्याज, टिमुर, ज्वानो, तेजपात, मुङ्रेलो, मेथी, धनियाँ, सुपरमौलीसुप, दालचिनी, नागकेशर, पुदिना, आदि मसला प्रमुख प्रयोग गरेको पाइन्छ। अधिकांश मसलाको स्रोत वनस्पति नै हुन्। अन्तर्राष्ट्रिय संगठन मानकीकरण (आईएसओ) द्वारा सूचिबद्ध १०९ मसलामध्ये नेपाल र भारतमामा मात्र ७५ प्रकारका मसलाहरू उत्पादन हुने गरेको पाइन्छ।

पोषणजन्य महत्व
मसलाहरू विशेषगरी भान्सामा पाक्ने परिकारको सुगन्ध अनि स्वाद बढाउन प्रयोग गरिन्छ। यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्दछन्। मसलामा कार्बोहाइड्रेट, प्रोटिन र बोसो तीनै खाले पोषण पाइन्छ। यसर्थ मसलाको पोषणजन्य महत्व छ। मसलाले शरीरमा शक्ति तथा खनिज लवण आपूर्ति गराउँछ साथै शक्तिवर्धक क्षमता (क्यालोरी क्षमता) पनि हुन्छ।

म्यारियाल्योरा बोनासिस्को एवम् समूहद्वारा सन् २०१९ मा ‘जर्नल अफ अमेरिकन कलेज अफ कार्डयोलोजी’ (इटली) मा प्रकाशित एक अनुसन्धानले जो व्यक्ति हप्तामा ४ दिन रातो खुर्सानी राखी तयार पारिएको खाना खाने गर्दछ उसलाई हृदयरोगबाट हुने मृत्यु एवं असमय हुने मृत्युको खतरा कम हुन्छ भन्ने निष्कर्ष सार्वजानिक गरेको छ।

हरेक मसलाको मात्रा अनुसार त्यसमा निश्चित क्यालोरी पाइन्छ। खानयोग्य मात्रा र क्यालोरी व्यक्तिले आवश्यकता हेरी आफैंले निर्धारण गर्नु उपयुक्त हुन्छ। १०० ग्राम सयपत्री मसालामा ४३७, जाइफलमा ४७२, ज्वानोमा ३३४, जीराको गेडामा ३५६, बेसारमा ३१९, मेथीको गेडामा ३३३ किलो क्यालोरी पाइन्छ। भोजनका परिकारमा मसलाको प्रयोग थोरै भए पनि पोषणमा प्रत्यक्ष योगदान पुर्याउने खालका हुन्छन्। त्यस अतिरिक्त मसालाहरूले भोक जगाउन तथा रुचि बढाउन पनि अहम भूमिका खेल्दछन्।

शरीर-क्रियाजन्य महत्व

मसलाले अधिक र्‍याल उत्पन्न गराउनुको साथै अमाइलेज एन्जाईम, न्युरामिनिक एसिड (अम्ल), हेकसोसामाइन उत्पादन तथा सञ्चार गराउँछ। साथै मुखमा खानेकुरा तथा जीवाणु टाँसिनबाट बचाउन पनि मदत गर्छ। र्‍यालको अधिक उत्पादनले अमाइलेज वा पिटाइलिनको उपलब्धता बढाउँछ। फलतः त्यसबाट खाना पचाउन सहजीकरण हुन्छ। खानालाई सुपाच्य स्वरूपमा रूपान्तरण गरी सजिलै पच्ने बनाउँछ। मसलाले मुखको एवं पाचन प्रणालीमा उत्तेजना ल्याई सक्रियतासमेत बढाउँछ। अतस् मसलाहरूले भोक जगाउनुको साथै खानाप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

औषधिजन्य महत्त्व
मसलामा धेरैखाले औषधिजन्य गुण हुन्छन्। विभिन्न खाले औषधि बनाउन मसलाहरूको प्रयोग गरिन्छ। प्राकृतिक चिकित्सा प्रणाली, आयुर्वेदिक चिकित्सा तथा युनानी चिकित्सामा वायु उत्र्सजक तत्त्वको रूपमा मसलाहरूको प्रयोग गर्ने गरिन्छ। प्रायः मसलाले शरीरमा गर्मी गराउँछन्। शरीरका छिद्रहरूमा भएको अवरोधलाई हटाउँछ। केही मसलाहरूले अपच र अजीर्णको निवारण पनि गर्दछन्। घाउहरू सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसीहरू बटारिन नदिने खालका हुन्छन्।

मसलाकै रूपमा प्रयोग हुने बहुगुणी लसुन उच्च रक्तचाप निवारणको लागि पनि प्रयोग हुने गरेको धेरैलाई थाहा नै छ। लसुनले एलडीएस, कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइडको मात्रालाई सन्तुलित गराउँछ। साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न पनि मदत गर्छ। धुलो मसालाबाट सुगन्धित बाफ भएर उड्ने अत्यावश्यक तेलहरू निकालिन्छ। बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध, बास्ना र स्वादका लागि विख्यात मानिन्छन्। मसलाको सुगन्धित तेलले भोक जगाउनुको साथै खानाप्रति रुचि बढाउँछ।

सौन्दर्य तथा इम्युनिटिजन्य महत्त्व
हिजोआज महँगा सौन्दर्यशाालामा समेत जिरा, दालचिनी, ल्वाङ, जाइफल, मेथी, अलैंची जस्ता मसला वा त्यसबाट उत्पादित तेलहरूको व्यापक प्रयोग गरिन्छ। सौन्दर्य र शरीरको रेखदेख एवं सुरक्षका लागि नेपाली समाजमा मसलाको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ। विविध मसला प्रशोधन नै नगरी (काँचै) आज पनि शरीरको रङ र सुगन्ध सुधार्न साथै सुन्दर देखिन पनि सर्वत्र प्रयोग गरिन्छ।

बेसार लोकप्रिय मसलाको श्रेणीमा पर्दछ। जसलाई लेदो बनाएर अनुहारमा एवं शरीरमा लेप लगाएमा छालाको रङ परिष्कृत हुन्छ। यसको साथै शरीरबाट नचाहिँदा रौं हटाउन पनि बेसारको प्रयोग गरिन्छ। बेसार डण्डीफोरको फोका गलाउन र पाक्न नदिन पनि प्रयोग गर्ने गरिन्छ। मसलालाई सौन्दर्य वृद्धिका लागि प्रयोग गरिने यस्ता अनेकन उदहारणहरू छन्।

केही अनुसन्धानात्मक एवं व्यापारिक संस्थाहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी अनेक सौन्दर्य सामग्रीहरू उत्पादन गरेर बजारमा बिक्री वितरण गरेको यत्रतत्र देख्न पाइन्छ। भान्सामा यति महत्त्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न व्यक्तिहरू लालायित छन्।

म्यारियाल्योरा बोनासिस्को एवम् समूहद्वारा सन् २०१९ मा ‘जर्नल अफ अमेरिकन कलेज अफ कार्डयोलोजी’ (इटली) मा प्रकाशित एक अनुसन्धानले जो व्यक्ति हप्तामा ४ दिन रातो खुर्सानी राखी तयार पारिएको खाना खाने गर्दछ उसलाई हृदयरोगबाट हुने मृत्यु एवं असमय हुने मृत्युको खतरा कम हुन्छ भन्ने निष्कर्ष सार्वजानिक गरेको छ।

त्यसैगरी सन् २००४ देखि २००८ सम्म ५ लाख मानिसहरूमा चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेजले ३० वर्षदेखि ७९ वर्ष उमेर समूहमा गरेको एक अर्को अध्ययन अनुसार हप्तामा एक दिन रातो खुर्सानी खाने भन्दा प्रत्येक दिन खुर्सानी खानेको आयु लामो हुने गर्दछ। साथै त्यस्ता व्यक्तिमा क्यान्सर, हृदयरोग एवं श्वासप्रश्वास सम्बन्धी समस्या पनि कम हुने गर्दछन्। यसको मतलब स्वस्थ रहन अधिक खुर्सानी खानुपर्छ भन्ने चाहिँ होइन।

तरकारीमा प्रयोग हुने मसला पनि दुई थरीको मान्न सकिन्छ। पहिलो दैनिक प्रयोग हुने मसला जस्तै लसुन, अदुवा, जिरा, प्याज, हरियो धनियाँ हुन् भने अर्को गरम मसला जसमा ज्वानो, ल्वाङ, सुकमेल, मेथी, हिङ आदि पर्दछन्। उहिल्यै पुर्खाहरूले मरमसलालाई ढुंगाको खलमा राखेर पिस्थे र तरकारी पाकेपछि मात्र हालेर खाने गरिन्थ्यो जुन ताजा हुन्थ्यो र स्वास्थ्यका लागि हितकर थियो।

अचेल खलमा पिस्ने काम लुप्त हुँदै गएको छ र मसला पहिले नै तेलमा भुट्ने चलन आएको छ। सजिलोका लागि ताजा मसलाको सट्टा सिल प्याकवाला मसलाको प्रयोग बढेको छ। सिल प्याक भएका मसलामा प्राकृतिक लवण र औषधीय गुण हुँदैनन्। अहिले पाइने अधिकांश प्याकेटवाला मसलामा रङ हालिएकाले ती हानिकारक नै हुन्छन्।

तरकारीमा ताजा मसला जस्तै अदुवा, लसुन र जिरा थोरै मात्रामा पिसेर राख्नु बेस हुन्छ। यसका अलावा गरम मसला धनियाँ पत्ता, ज्वानो, पुदिना, टिमुर, अलैंची आदि धेरै कम मात्र प्रयोग गर्नुपर्छ। गरम मसला दैनिक प्रयोग गर्नु आवश्यक छैन। दैनिक धेरै मसलाको प्रयोग स्वस्थकर हुँदैन।

त्यसैले मात्रा मिलाएर खाए मसला स्वस्थकर हुन्छ, अधिक मात्रामा खाए त्यही हानिकारक बन्न जान्छ। त्यस अतिरिक्त मसलालाई कसरी खानामा प्रयोग गरिन्छ- त्यो पनि उत्तिकै महत्वपूर्ण हुन्छ। भान्सामा जति पनि मरमसला प्रयोग गरिन्छ तिनलाई सही रूपमा मिसाउन र पकाउन जाने तिनले औषधीकै काम गर्छन्। यहाँ सही रूपमा भन्नुको अर्थ गुणस्तरीय मसलाको निर्धारित मात्रा भनेर बुझ्नुपर्छ।

गुणस्तरीय मसलाहरूको मात्रा मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा पुग्ने हुन्छ। आजभोलि मसलालाई जिब्रोको स्वाद र नाकको बास्नाको लागि अधिक भन्दा अधिक मसला प्रयोग गरेको पाइन्छ, जुन हानिकारक हो। मसला बहुगुणी छ, मात्रा मिलाएर सही तरिकाले पकाएर खान जाने बहुहितकारी हुन्छ। अधिक मसला राखेर खाना मिठो बन्ने होइन। बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत छ।

दैनिकजसो प्रयोग गरिने मसलाको प्रयोग सजग रूपमा गरौं। सामान्य अवस्थामा जुन मात्रामा मरमसलाहरू खानामा प्रयोग गरिन्थ्यो त्यही मात्रामा चाडपर्वका बेला पनि प्रयोग गर्नु बुद्धिमानी हुन्छ। चाडपर्वका बेला बिरामी हुनबाट बच्न सकिन्छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार