मलेसियाका ६ सय ५० भन्दा बढी ठाउँबाट नेपालको प्रचारप्रसार र प्रवर्द्धन।

काठमाडौं := अब मलेसियाको विभिन्न ठाउँबाट पनि नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्द्धन हुने भएको छ। जसका लागि नेपाल पर्यटन बोर्डले मलेसियाको ठूलो चेन भएको केके सुपरमार्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार मलेसियाका ६ सय ५० भन्दा बढी स्थानबाट नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रसारण हुनेछ ।

केके सुपरमार्ट मलेसियाको ठूलो चेन मार्ट हो । जहाँ लाखौँ ग्राहक किलमेलका लागि पुग्छन् । मलेसियाका छ सय ५० भन्दा बढी ठाउँमा शाखा विस्तार गरेको केके सुपरमार्टले छिट्टै थप एक हजार आउटलेट खोल्ने योजना अघि सारेको छ । बुधबार मलेसियामा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र मलेसियाका सुपरमार्टका दूत डा. केके चाईले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

केके सुपरमार्टले सबै आउटलेटमा नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भिडियो तथा फोटो प्रदर्शन गर्नेछ भने बोर्डले नेपालका पर्यटकीय क्षेत्रबारेको भिडियो तथा फोटो उपलब्ध गराउनेछ । त्यस्तै, सुपरमार्टले आफ्नो डिजिटल बोर्ड तथा फ्लेक्समा नेपालका पर्यटकीय क्षेत्रको फोटो तथा भिडियो राख्नेछ ।

जसकारण किनमेल गर्न आउने हजारौँ ग्राहक नेपालका सुन्दर पर्यटकीय क्षेत्र हेरेर नेपाल घुम्न आउन सक्नेछन्। मलेसियाका धेरै पर्यटक थाइल्याण्ड, युरोप र अमेरिका पुग्ने गरेका छन् ।मलेसियाका पर्यटनमन्त्री किङ सिङले वार्षिक एक लाख पर्यटक नेपाल घुम्न जाने र त्यसका लागि आफूले वातावरण मिलाउने बताउनुभएको छ ।

नेपालका पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज ‘नेपाल सेल्स मिसन’ लिएर बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीसहित नेपालका पर्यटन व्यवसायीसहितको टोली मलेसिया पुगेको हो । टोलीमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पर्यटन व्यवसायी, नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देललगायत रहनुभएको बोर्डले जनाएको छ ।