तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी सिंहको उपचारका लागि पाँच लाख प्रदान।

काठमाडौं := तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले दुई लाख र परिषद्ले तीन लाख गरी नगद पाँच लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई पाँच लाखको चेक बिहीबार हस्तारन्तरण गर्नुभयो । कैलाली जिल्ला निवासी सिंहको दिल्लीस्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भइरहेको छ । उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराउनुभएको छ ।