विश्वकपमा गोल्डेन बुट विजेताको दौडमा लियोनल मेस्सी अगाडि।

कतार:= कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ खेलमा फाइनल समिकरण पुरा भएको छ। हालसम्म ६४ मध्ये ६२ खेल सकिएका छन्।

हालसम्मको परिणाम हेर्दा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो ।

गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दाबेदारको रुपमा हेरिएको छ । तर मुख्य प्रतिस्पर्धा मेस्सी र एम्बाप्पेबीच नै देखिएको छ । दुवै खेलाडीले ५/५ गोल गरेका छन् ।

असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ ।

असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ। दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ ।

नेपाली समय अनुसार अब आइतबार राति ८:४५ बजे लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछन्। यस्तै तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा खेल्नेछन्।