सेमिफाइनल खेलमा क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश।

कतार := कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलमा गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई हराएर छैटौंपल्ट फिफा विश्वकप फुटफुटबलको फाइनलमा पुगेको छ।

मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।

अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए । तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो ।

पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे ।

दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए ।

अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोलले पराजित गरेको थियो ।

अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो।

अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ।