कतार := कतारमा जारी फिफा विश्वकप फुटबलमा युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलोपल्ट रोजाईमा खेल्दै ह्याट्रिक गरेपछि स्वी्ट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए. उनले ह्याट्रिक गोल पुरा गर्दा रफायल गुरेरोले दुई र पेपेले एक गोल गरे ।
पोर्चुगलका लागि खेलको १७औं मिनटमा गोन्चालोले गोल गर्दै पोर्चुगलको खाता खोलेका थिए भने खेलको ३३औं मिनटमा पेपेले सुन्दर हेडर गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर बनाए। त्यस्तै दोस्रो हाफकाे शुरूवाती ५१औं मिनटमा गोन्चालोले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ३–० गोल अन्तरको अग्रता दिलाएका थिए।

खेलको ५५औं मिनटमा रफायलले गोल गर्दै पोर्चुगललाई ४–० गोलको अन्तरमा पुर्याए । तर ६७औ मिनटमा गोन्चालोले ब्यक्तिगत ह्याट्रिक गोल गर्दै पोर्चुगललाई ५–१ गोल अन्तरको अग्रता दिलाएका थिए । यो जारी विश्वकपको पहिलो ह्याट्रिक गोल समेत हो । यसपछि खेलको अन्तिम मिनटमा रफायलले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ६-१ गोल अन्तरको शानदार जित दिलाए ।
पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।




















