नेपाली चलचित्र ‘हृयारी की प्यारी’ माघ २० गतेदेखि देशभरका सिनेमाघरमा।

काठमाडौं := नेपाली चलचित्र ‘हृयारी की प्यारी’ माघ २० गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको २७ औं बर्ष उमेरको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रका तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई देखाइएको छ।

चलचित्रको सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिनुभएका जितु र साम्राज्ञीलाई रिबनले बाँधिएको छ, साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ । कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रको अर्को पोस्टरमा जितुले साईकल चलाइरहनुभएको छ भने साम्राज्ञीले माइकिङ गरिरहनुभएको छ । यस्तै, तेस्रो पोस्टरमा उहाँहरूलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा हुनुहुन्छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेख्नुभएको हो । दन्त चिकित्सक डा. कपिल रिजालले यही चलचित्रमार्फत् निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ ।

चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौरभ दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालले छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।