काठमाडौं := नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिंग र स्काइलाइट्ज गेमिंगले उक्त पुरस्कार जितेका हुन् ।
एक लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काइलाइट्जले तेस्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।
चार दिनसम्म सञ्चालन भएको २४ म्याचको च्याम्पियनसिपमा मंगोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाइकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोस्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त गर्यो ।
यस्तै, तेस्रो स्थानमा रहेको स्काइलाइट्जले २३१ अंक प्राप्त गर्यो । १६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काइलाइट्जलगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए ।
यसका साथै डिआरएस, स्काइलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएका छन् । पहिलोपटक यस च्याम्पियनसिपलाई फिल्म हलको ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जसमा पब्जीलाई रुचाउने ठूलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।