भैरहवा := अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक ‘चार्टर’ उडान गर्ने भएको छ । हिमालयले यात्रुवाहक चार्टर उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।
काठमाडौंबाट क्वालालम्पुर गएर भैरहवा फर्किने तथा पुनः भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौं फर्किने गरी अनुमति मागेको एयरलाइन्सले जनाएको छ । जसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार हिमालयलाई ८ वटा चार्टर उडानको अनुमति दिएको हो ।
‘हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि आज (मंगलबार) अनुमति मागेको थियो,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘उसलाई प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको छ ।’
प्राधिकरणका अनुसार हिमालयले कात्तिक १७ गतेदेखि २४ गतेसम्म दैनिक एउटा उडान गर्नेछ । मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ । हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ ।
त्यहाँबाट यात्रु लिएर पुन: मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।
प्राधिकरणले नेपालका दुइटा अन्तर्राष्ट्रिय विमानस्थललाई जोडेर एउटा मिक्स उडान गर्न दिएको यो पहिलोपटक हो । भैरहवामा इन्जिनियरीङ बेस नभएकाले उस्को जहाज चौथो उडानमा काठमाडौं नै फर्किने छ ।




















