एजेन्सी:= अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो। सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनायो । भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरे ।
ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने । विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए ।

कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो । उसका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए ।
भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए । नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् । नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।



















