एनआरएनएद्वारा सुरक्षित आप्रवासनबारे छलफल।

काठमाडौं := गैरआवासीय नेपाली संघ(एनआरएनए) को कार्यालयमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका प्रतिनिधिबीच छलफल आयोजना गरिएको छ । कार्यक्रममा सञ्जालका प्रतिनिधिहरू चिरञ्जीवी बराल, कृष्णप्रसाद न्यौपाने, अशोक राणा, अरुण श्रेष्ठ र एनआरएनएतर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी र अधिकृत कुनाल मिश्राको सहभागिता थियो ।

सञ्जालका प्रतिनिधिहरूले सञ्जालले गरेका गतिविधिबारे जानकारी गराएका थिए भने एनआरएनएका अध्यक्ष केसीले एनआरएनएले वैदेशिक रोजगारमा भएका र भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा आइएलओको आर्थिक सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको संयोजनमा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गर्नेबारे छलफल भएको पनि बताइएको छ ।

दीर्घकालीन साझेदारीका रूपमा कार्य अघि बढाउन एनआरएनए र सञ्जालबीच सम्झौता गरी कार्य अघि बढाउन सकिने विषयमा पनि कुराकानी भएको एनआरएनएले जनाएको छ । तालिमअन्तर्गत विभिन्न शीर्षकका २५ सत्रहरू आगामी जनवरीदेखि सुरु गर्ने र स्रोत व्यक्ति उत्पादन गरी सुरक्षित, मर्यादित वैदेशिक रोजगार तथा आप्रवासनसम्बन्धी ज्ञान, सीप र धारणा अभिवृद्धि गर्ने लक्ष्य राखिएको एनआरएनएले जनाएको छ ।