छुरा घोप्न र गोली हान्न कार्यकर्ता उक्साउँदै एमाले उम्मेदवार भगवती चौधरी।

‘पहिले छुरा घोप्नु पर्‍यो कि, गोली हान्नु पर्‍यो कि म आफै तयार छु, कार्यकर्तालाई त्यही ढंगले उतार्छौ’

सुनसरी := सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेकी भगवती चौधरीले कार्यकर्तालाई उक्साउँदै छुरा हान्ने र गोली हान्न आफै फिल्डमा उत्रने बताएकी छन् । सोही निर्वाचन क्षेत्र अन्तर्गत इटहरी–१४ नम्बर वडामा आयोजित चुनावी भेटघाट कार्यक्रममा बिहीबार चौधरीले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले आफ्नो पक्षमा परिणाम नआए छुरी हान्ने बताएकी हुन् ।

चौधरीको यस्तो अभिव्यक्ति निर्वाचन आचारसंहिता विरुद्ध र आपराधिक सोचलाई प्रश्रय दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवले यस विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए ।

एमालेबाट उम्मेदवार बनेकी चौधरीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन् । गच्छदारले यसअघि पनि धाँधली गरेर निर्वाचन जितेको चौधरीको आरोप छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले पराजित गरेका थिए । अहिले गच्छदार पुनः गठबन्धनको उम्मेदवारको रुपमा चुनावी मैदानमा भिडनलाई अगाडि सरेका छ्न।

चौधरीले राखेको भनाइ जस्ताको तस्तै

युवा संघ, युथ फोर्स, महिला संघ, तपाई हाम्रो किसान संघ । तपाई सबै पार्टीको कार्यकर्ता हो । जसले हामीलाई नकारात्मक दृष्टिकोणले असुरक्षित प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्छ भने त्यसलाई निष्पक्ष ढंगले जानुस् भन्ने हाम्रो काम हो, खबरदारी गराउने । यदि भएन भने म भन्छु, मर्ता क्या नहि कर्ता! अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु, भगवती चौधरी म उम्मेदवार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुष्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु।

पहिले छुरा घोप्नु पर्यो कि, त्यसलाई ऊ गर्नुपर्यो कि ! त्यसरी चाहिँ हाम्रा कार्यकर्ता पनि हरेक बुथमा, हरेक लाइनमा, हरेक गाउँमा, कहाँ गडबड हुँदैछ, त्यहाँ धारिलो छुराजस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौँ । त्यो सँगसँगै म भन्न चाहन्छु मेरा प्रतिपक्षीलाई, जो मेरो दुष्परिणाम निकाल्न खोज्ने, अन्य षड्यन्त्र गर्न खोज्ने, जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिनको लागि हामी तयार छौं । त्यसलाई भोलि पर्सि हुनसक्छ भने त्यसलाई गोली ठोक्नुपर्यो भने छुरी हान्न परे पनि भगवती चौधरी तयार छु।