क्वालालम्पुर (मलेसिया):= मलेसियामा यहीँ सन् २०२२ को आगामी नोभेम्बर महिनाको १९ तारिख शनिबारको दिन नेपाली मिति मंसिर ३ गते आमनिर्वाचन हुनेभएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।
उम्मेदवारहरूको मनोनयन दर्ता यही कात्तिक २० गतेसम्म हुनेछ्। भने आधिकारिक चुनाव प्रचार,प्रसारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ।
कुल दुई करोड ११ लाख ७३ हजार ६३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार ५१५ जना निर्वाचन अधिकृत खटाइनेछ । देशभर आठ हजार ९५८ मतदान केन्द्र सञ्चालन गरिने छन् ।
सन् २०२० को फेब्रुवरीमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मदको राजीनामापछि दुईजना प्रधानमन्त्री नियुक्त भए पनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गर्नुभएको थियो ।
दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै गठबन्धनबाट संसदका सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुभएको थियो । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
रासस/सिन्हृवा।




















