शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो।

बंगलादेश:= शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो ।

समान तीन तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोश्रो स्थानमा रहन सफल श्रीलंकाले ३ हजार अमेरिकी डलर पाउँदा तेश्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि सुरू भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता रहेको थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।

नेपाली टिम सुपर लिगका दुबै खेलमा पराजय व्यहोर्न पुग्यो ।व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोश्रो बोर्डमा बिलमलाल र तेश्रो बोर्डतर्फ सिंगेश्वर दासले काँस्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रबार नेपाल स्वदेश फर्किने छ।