दुबईमा आज हिन्दु मन्दिर उद्घाटन हुँदै, के-के छन् यो मन्दिरका विशेषता?

एजेन्सी (युएई):= संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेको पहिलो हिन्दू मन्दिर आजदेखि खुल्ने भएको छ । गल्फ न्युजका अनुसार युएईको सहिष्णुता र सहअस्तित्व मन्त्री शेख नह्यान बिन मुबारक अल नाह्यान र युएईका लागि भारतीय राजदूत सञ्जय सुधीर मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि रहने जानकारी दिइएको छ ।

सो अवसरमा सामुदायिक विकास प्राधिकरण (सीडीए)का पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ । यो मन्दिर दुबईको वर्शिप भिलेजमा बनाइएको हो । धेरै चर्च र गुरु नानक दरबार गुरुद्वारा यहाँ पहिले नै अवस्थित छन्।

औपचारिक उद्घाटन अघि सेप्टेम्बर १ मा मन्दिर आंशिक रूपमा खोलिएको थियो। हालसम्म हजारौं मानिसले मन्दिरको दर्शन गरिसकेका छन् । यहाँ सबै धर्मका मानिस आउन सक्छन् । यहाँ नौ दिनसम्म विशेष पूजाको पनि आयोजना गरिएको थियो।

अहिलेसम्म मन्दिर प्रवेशका लागि मन्दिरको वेबसाइटमा रहेको क्यूआर कोडबाट अपोइन्टमेन्ट बुक गर्नुपर्थ्यो। अहिले मंगलबार उद्घाटन कार्यक्रम हुने भएकाले सर्वसाधारणले प्रवेश पाउने छैनन् । तर बुधबारदेखि सबैका लागि खुला गरिने भएको छ । मन्दिरमा १६ वटा देवताका मुर्तिहरु छन् । युएइमा ठूलो संख्यामा नेपालीहरू छन् जसमा अधिकांश हिन्दू छन् ।