डोजर चलाएको भन्दै महानगर र मेयर बालेन साहको पुत्ला दहन गर्दै विरोध प्रदर्शन।

काठमाडौं := काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडाैंका स्थानीयवासीहरुले शनिबार साँझ  प्रदर्शन गरेका छन् । बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए । उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।

‘अतिक्रमण गरेको छ भने मार्किङ गर्नुपर्छ, यहाँको मान्छेको समर्थन लिएर काम गर्नुपर्छ’ उनले मेयर बालेनप्रति लक्षित गर्दै भने, ‘उहाँको सोच बदलिनुपर्छ । डोजरले घर भत्काएर समाधान हुदैन ।’ स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।