अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हरायो।

काठमाडौं := मंगलबार सम्पन्न नेपाल् बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। नेपाल ३–१ ले विजयी भएको हो। नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।

सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए ।

खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो । तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको  गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।

२६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले । त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोलसमेत हो । यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

ऋतिक खड्का र आशिष चाैधरीकाे डेब्यू

युवा फरवार्ड ऋतिक खड्कार आशिष चाैधरीले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका छन् । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीकाे रुपमा मैदान प्रवेश गर्दै एकसाथ डेब्यू गरे । ऋतिक सेसेहाङ आङदेम्बे र आशिष विमल घर्ती मगरकाे स्थानमा ८४ मिनेटमा मैदान प्रवेश गरेका हुन् ।