काठमाडौं := निजी क्षेत्रले नेपाल र इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिएको छ । नेपाल इण्डोनेसिया व्यावसायिक फोरमको बुधबार सम्पन्न बैठकमा सहभागीहरूले सिधा हवाई सम्पर्कमा जोड दिएका हुन् । भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा समेत कतिपय कुरामा दुई देशबीच समानता रहेको र पर्यटन प्रवद्र्धनमा ठूलो लाभ लिन सकिने सम्भावना रहेकाले सिधा हवाई सेवा सञ्चालन महत्वपूर्ण अवसर हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघका अनुसार दुवै देशबीच दौंत्य सम्बन्ध स्थापना भएको छ दशक पूरा भइसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको छैन । तथ्यांकअनुसार दुुई देशबीचको व्यापार घाटाको अन्तर ठूलो छ । इण्डोनेसियासँग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ । सन् २०२१/०२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्ब २४ करोडभन्दा बढीको थियो ।
महासंघद्वारा आयोजित बैठकमा महासंघ अध्यक्ष शेखर गोल्छाले नेपालमा इण्डोनेसियन पर्यटक भित्र्याउन सकिने अधिक सम्भाव्यता र आधार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय मञ्चमा पनि दुवै देशको बलियो सहकार्य रहेको उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रूपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी १० वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको जानकारी गराउनुभयो ।
नेपालको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेसियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटा न्यूनीकरण गर्ने दिशामा सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । आगामी अक्टोबरमा इण्डोनेसियामा हुने ट्रेड एक्स्पोमा नेपालको सहभागिताका विषयमा पनि छलफल भएको थियो । एक्स्पोलाई दुुई देशबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेसियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमका रूपमा उपयोग गर्न नेपालस्थित इण्डोनेसियाका राजदूत हेरु हर्टान्टो सुवालोले सुझाव दिनुभएको छ ।
व्यापार घाटा कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेसिया तयार रहेको भन्दै उहाँले नेपालमा लगानीका सम्भाव्य क्षेत्रबारे ठोस सुुझाव दिन महासंघलाई आग्रह गर्नुभएको छ । द्रुत आर्थिक विकास गरिरहेको इण्डोनेसिया नेपालको आर्थिक विकासमा आफ्ना अनुुभव आदानप्रदान गर्न लालायित रहेको भन्दै राजदूत सुवालोले दुुवैै देशको संयुक्त लगानीमार्फत् वस्तु तथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औंल्याउनुुभयो ।
इण्डोनेसियामा आगामी अक्टोबरमा हुने एक्स्पोमा बंंगलादेश, नेपाल र इण्डोनेसियाबीच छुट्टै विशेष बैठकको आयोजना गरिने जानकारी गराउँदै बैठकलाई बढीभन्दा बढी परिणामदायी बनाउनुुपर्नेमा पनि उहाँले जोड दिनुुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका लागि इण्डोनेसियाका अनररी काउन्सिल चन्द्रप्रसाद ढकालले नेपाल-इण्डोनेसिया व्यावसायिक फोरम बैठकले आपसी आर्थिक सम्बन्ध नयाँ उचाइमा लैजान सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालसँग सहकार्य गर्न इण्डोनेसिया सधैँ इच्छुक रहेको आफूले पाएको र निजी क्षेत्रका माध्यममार्फत् आपसी सहकार्य, संयुक्त लगानी विस्तार, व्यापार घाटा न्यूनीकरण गर्ने र नेपालको निर्यात प्रवद्र्धनमा परिणामदायी ढंगबाट काम हुनुुपर्नेमा जोड दिनुभयो।




















