क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुरद्वारा यहीँ मिति २०७९ आश्विन ३ गते सन् २०२२ सेप्टेम्बर १९ तारिख सोमबार साँझ क्वालालम्पुरस्थित ( Hotel J W Marriot ) मा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
उक्त संविधान दिवस समारोहमा प्रमुख अतिथिको रुपमा मलेसियाका मानवसंशाधन उप-मन्त्री दातोक आवाम बिन हसिम (Datuk Awang bin Hashim) ले आफ्नो मन्तव्यमा नेपालको राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो ।


त्यस्तै यता नेपाली दूतावासका कार्यवाहक राजदूत मोति बहादुर श्रीसले पारस्परिक रूपमा मलेसियाका राजाको सुस्वास्थ, मलेसिया सरकार र मलेसियाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो।


त्यस्तै कार्यक्रममा कार्यवाहक राजदूतले संविधान दिवसको महत्त्वबारे प्रकाश पार्दै हाम्रो संविधानले नेपालको विविधतालाई सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सङ्कल्प लिएको व्यहोरा व्यक्त गर्नुभयो ।

नेपालमा लगानीमैत्री उपयुक्त वातावरण रहेको तथा लगानीकर्ताहरुलाई राजदूतावासले सहयोग र समन्वय गर्ने समेत हुँदा मलेसियाली तथा अन्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीगर्न प्रोत्साहन गर्दै कार्यवाहक राजदूतले सांस्कृतिक, धार्मिक लगायत अन्य हिसाबले नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले मलेसियाली नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो समेत गनुभयो ।

दुई देशका जनताबीचको सहकार्य र मित्रताका आधारमा स्थापित नेपाल र मलेसियाको सम्बन्धमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय लगायत अन्य बहुआयामिक क्षेत्रहरुमा सहकार्य बढाउनुपर्ने आवश्यकता समेत दर्शाउनुभयो।यसका साथै विभिन्न पेशा व्यवसाय तथा रोजगारको सिलसिलामा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया लगायतका मुलुकमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिकोलागि शुभकामना व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदूत लगायत अन्य कूटनीतिज्ञहरु, पत्रकार, उद्योगपति, व्यापारी लगायत मलेसियाको नागरिक समाजको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ मलेसिया एवंम मलेसियामा रहेका नेपाली समुदायका सदस्यहरु, व्यावसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र मलेशियामा रहेका प्रवुद्ध नेपाली व्यक्तिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालको संविधान तथा नेपालको कलासंस्कृति, कलात्मक धरोहर लगायत नेपाल चिनाउने विशेष श्रव्यदृश्य सहितको भिडियो सामाग्रीको प्रस्तुति गरिएको थियो।






















