प्रधानमन्त्रीद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुजात गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।’

नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रिय रूपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उहाँले नेपाल खेलकुद प्रेमी देश भएको समेत बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब १० लाखको लागतमा तयार गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पुर्‍याएर प्रतियोगितास्थल पोखरामा लगिने उहाँले जानकारी दिनुभयो ।

तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सदस्यसचिव घिसिङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुहुन्छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा ४०८ प्रतिस्पर्धा हुनेछन् । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ । नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराते, जिम्न्याष्टिकट, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन्।

प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो।