महिला साफ फुटबलमा नेपालले भारतलाई १-० गोलले हराउँदै ऐतिहासिक जीत निकाल्यो।

काठमाडौं := नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो ।

प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी थिइन् । पहिलो हाफको खेलमा भारतले नेपाललाई कडा चुनौती दिए पनि नेपालले त्यसको सामना गरेको थियो । अन्ततः खेलको पहिलो हाफमा भारत नेपालसामू चुक्यो । १–० मा सीमित भएर पहिलो हाफको खेल सकिएको थियो ।

खेलको दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन्।  महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।