टीकापुर घटनामा मुछिएका रेशम चौधरीसहितका आरोपितहरुको मुद्दा खारेज गर्ने सरकारको तयारी।

काठमाडौं := नेपाल सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

टीकापुर काण्डमा धेरै छलफल भयो । त्यसमा कानुन संशोधन गरेर सरकारले मुद्दा फिर्ता लिने निर्णय भएको छ, सरकारका एक मन्त्रीले भने । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक रुपमा सबै प्रकारका विवादित मुद्दा फिर्ता लिने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकारले टीकापुर घटना सम्बन्धि मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । यसका साथै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

विसं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुह्ट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जना र एकजना थारु आन्दोलनकारी लगायतको मृत्यु भएको थियो, भने कैयौं थारुको घरमा आगजनी समेत गरिएको थियो।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। रेशमले सर्वोच्चमा पुनरावेदनको लागि पुनः निवेदन हालेपनी अहिलेसम्म मुद्दाको सुनुवाइ भएको छैन।