डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई मन्त्रालयले दिए स्वास्थ्य टिप्स।

काठमाडौं := स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ। उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो ।

जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।