काठमाडौं := नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गर्नुभएको हो । नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५२५ दिनपछि अलमुताइरीले राजीनामा घोषणा गर्नुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर, अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनुभएको थियो । बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अलमुताईरीले टिम घोषणा गर्नुभएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले अलमुताइरीले एन्फालाई राजीनामा पत्र पठाएको बताउनुभयो । ‘उँहा (अलमुताईरी) ले महासचिवलाई सम्झौता समाप्त गरिएकोबारे पत्र पठाउनु भएको रहेछ । यसलाई हामीले राजीनामा भएको बुझेका छौँ ।


















