युएई (दुबई):= वैदेशिक रोजगारीका सिलसिलामा दुबई काम गर्न पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कु निवासी मेखराज ढकालको साथीले गरेको छुरी प्रहारबाट अल्पआयुमै मृत्यु भएको छ ।
चार वर्षअघि रोजगारीका सिलसिलामा युएई, दुबई पुगेर अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाले गरेको छुरी प्रहारबाट मृत्यु भएको हो ।
सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन् ।
घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा करिब ८/१० मिनेटपछि ढकालको मृत्यु भएको थियो । छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर पुनः दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन् ।




















