कैलाली (भजनी):= कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उहाँले माछा मारेर सदुपयोग गर्दै आउनुभएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उहाँको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।
“पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उहाँले भन्नुभयो, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उहाँले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउनुभयो । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ। त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्पराजस्तै बनिसकेको छ ।
दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीको रुपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् । बढी भएको झिङ्गे माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरीले बताउनुभयो । केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् । बर्सातको समयमा मारेका झिङ्गे माछा सुकाएर हिउँदमा समेत खाने गरेको भजनी नगरपालिका वडा नं ६ कि कृष्णी थारुले बताउनुभयो । “थोरै भए आफैँलाई ठिक्क हुन्छ । बढी भए बिक्री गर्छौं । बिक्री भएन भने सुकाएर राख्छौँ ।” उहाँले भन्नुभयो, “हामीले मारेको माछा खेर जाँदैन । घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ ।” घरका पाँच जना सदस्यले अलिअलि गरे पनि एकदुई केजी झिङ्गे माछा साँझको समयमा सङ्कलन हुने गरेको उहाँले बताउनुभयो ।
बर्सातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ । “खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन । त्यो समयको सदुपयोग गरेका हौँ ।” सुवर्णले भन्नुभयो, “खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ । त्यही भएर पनि बर्सातको समयमा माछा मारेर बित्छ ।” माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्नुहुन्छ भने पुरुषले जालको । ठूला माछाभन्दा पनि झिङ्गे माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी-६ कि बिन्द्रा चौधरीले बताउनुभयो ।




















