काठमाडौं := यही भदौ २१ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको आयोजनास्थल, यातायात, सुरक्षा, मैदान, होटल आदि सम्पूर्ण कुराको व्यवस्था भइसकेको जानकारी दिनुभयो ।
नेपालले दोस्रोपटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरू नेपाल आइपुगे हुन् । एन्फाका अनुसार सहभागी सबै टोली आइतबारसम्म काठमाडौं आइपुग्नेछन् ।
प्रतियोगितामा आयोजक नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटान गरी सात राष्ट्रको महिला राष्ट्रिय फुटबल टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।
उक्त प्रतियोगिताको तयारीका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष खड्काले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
एन्फाले उक्त प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार भने हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई बिक्री गरेको छ । प्रतियोगितामा खेल हेर्न भीआइपी प्याराफिटतर्फ पाँचसय र साधारण प्याराफिटतर्फ तीन सय रुपैयाँको टिकट तोकिएको छ । उक्त प्रतियोगिता सपन्न गर्न कूल तीन करोड ४७ लाख ६८० रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खानपिन र बसोबास खर्च दक्षिण एशियाली फुटबल संघ (साफ)ले बेहोर्नेछ भने खेल मैदानको तयारी र स्थानीय यातायात तथा अन्य स्थानीय खर्च एन्फाले व्यहोर्नेछ ।
प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिएको जानकारी गराउनुभयो । यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने एन्फाले जनाएको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।




















