क्वालालम्पुर (मलेसिया):= घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोशमाह मन्सुर दोषी ठहर भएकी छन् ।
आर्थिक अनियमितताको आरोपमा बिहीबार मलेसियाको उच्च अदालतका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोशमाह मन्सुरलाई दोषी ठहर गर्दै १० बर्षसम्म सजाय हुने र आरएम ९७ करोड रिंगेटसम्म जरिवाना सहितको फैसला सुनाएको हो।
रोजमाह मन्सुरका पति पुर्व प्रधानमन्त्री नाजिब राजाकलाई १२ वर्षसम्म जेल सजाय भएको केही दिनपछि नै अदालतले यस्तो फैसला गरेको हो। मन्सुरले सारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो।
यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन् । उच्च अदालतको फैसलापछि रोश्माले न्यायाधीशसँग भनिन्, ‘आज जे भयो, त्यसबाट म निकै दुःखी छु। मैले पैसा लिएको कसैले देखेको छैन। मैले पैसा गनेको पनि कसैले देखेको छैन। फैसला त्यही भए म ईश्वरको हातमा छाडिदिन्छु।’
७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन् । सन् २०१८ मा प्रहरीले छापा मार्दा १ दशमलब ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो । साथै उनीमाथि कालो धनलाई सेतो बनाएको र कर छलेको लगायत १७ अभियोगको फैसला हुन अझै बाँकी नै छ। एजेन्सी




















