काठमाडौं:= नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नयाँ खेलतालिका आगामी हप्ता सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई प्रतिबन्ध लगाएपछि बसेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को कार्यकारिणी समितिको बैठकले महिला साफको नयाँ तालिका सार्वजनिकका लागि अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।
यस्तै श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको नयाँ तालिकाका लागि समेत अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो । बैठकले अगस्ट २४ मा नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ । यदि फिफाको निर्णय उस्तै रहेमा साफ यू-१७ च्याम्पियनसिपको ढाँचा परिवर्तन हुनेछ ।
महिला साफको ढाँचा र समूह समान रहनेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने तालिका थियो ।
साफले यसअघि सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका थिए । यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेका थिए । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको थियो । नेपालको समूहमा भारत र भुटान रहेका थिए ।




















