धरानका मेयर हर्क साम्पाङद्वारा आफूले सय दिनसम्म गरेका कामको सुची सार्वजनिक।

धरान:= सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका काम सार्वजनिक गर्नुभएको छ । मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उहाँले १३ वटा काम सार्वजनिक गर्नुभएको हो ।

बिहीबार बिहान फेसबुक पेजबाट उहाँले आफूले सय दिनमा गरेका १३ उपलब्धिलाई सार्वजनिक गर्नुभएको हो । नेपालमा श्रम संस्कृति क्रान्तिको आफूले सुरुवात गरेको उहाँको दाबी छ।उहाँले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभएको छ ।

यस्तै चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ । जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागूऔषधविरुद्धको अभियान सुरू गरेको, योजनाका लागि बजेटको जोहो गराएकोलगायतका काम सय दिनभित्र गरिएको उहाँको दाबी छ।

यी हुन् साम्पाङले उल्लेख गरेको १३ काम-

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।

२. चार ठाउँबाट खानेपानीको मूहान थपें ।

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।

४. ६ लाख विरुवा रोपें ।

५. सरसफाइमा देखिने सुधार ल्याएँ ।

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।

९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।

१०. योजनाहरूका लागि बजेटको जोहो गराएँ ।

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।

१३. शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ ।