श्रममन्त्री कुँवर र राजदुत गोदेरबीच भेटवार्ता, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने।

काठमाडौं := श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

आज सोमबार भएको भेटमा राजदूत गोदेर मन्त्री कुँवरबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए।

त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए । भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए।


उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे । मन्त्री कुँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनःएकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरे।

त्यस्तै उनले अहिले थुपै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उनीहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गर्नुभयो।