कि मलाई न्याय देऊ कि मृत्युदण्ड : रेशम चौधरी।

[ लेखक : रेशम चौधरी ] 

महाभारतको व्याख्या भन्छन्– महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक–एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्‍याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।

योद्धा परशुरामले कर्णलाई ब्राह्मण पुत्रको रूपमा शिष्य स्वीकार गरेका थिए। एकदिन दीक्षा दानकै क्रममा दिवा बिश्रामपश्चात ब्युँझिदा कर्णलाई उनले रक्ताम्यै देखे। कारण सोध्दा बताए– गुरु मेरो काखमा मस्त निदाइरहनुभएको थियो। त्यसै बखत एक बिषालु कालो बिच्छीले मलाई डस्यो। हजुरको निद्रामा असर नपरोस् भनेर मैले उक्त पीडा सहन गरें।

कर्णको जवाफले पशुराम असाध्यै क्रोधित भए। उनी चाहन्थे आफ्नो विद्या कुनै क्षत्रीयले नसिकोस्। त्यसबेलासम्म उनले कर्णलाई धनु विद्यामा निपूण बनाइसकेका थिए। त्यसैले कर्णबाट आफूलाई छल भएको ठानी तुरुन्तै श्राप दिए– ’काल संकटका बखत मैले सिकाएको महामृत्युञ्जय मन्त्र भुल्नेछौं।’ धनुविद्याका गुरु परशुरामले दिएको श्राप नै उनको दोस्रो मरण थियो।

धनु विद्यामा निपूण कर्ण एकदिन व्याधाको रुपमा वनमा शिकार खेल्दै थिए। अनुमानकै भरमा पनि निशाना लगाउनसक्ने क्षमता भएका कर्णले टाढाबाट हानेको बाण मृगलाई नलागी एक गौपुत्र बछेडालाई लाग्न पुग्यो। आफूले गरेको शिकारको नजिक पुग्दा बछेडाको मृत्यु शोकमा गाई भावविह्वल भई रोइरहेकी थिइन्।

गलत जनावरको सिकार गरिएकोमा पछुतो मान्दै कर्णले क्षमा मागे तर सन्तान वियोगले रोइरहेकी गौमाताले श्राप दिइन्– मेरो सन्तानको जस्तै तिम्रो पनि मरण होस्। भूलवस गरिएको सिकारका कारण पाएको श्राप नै उनको तेस्रो मरण थियो।

छातीमा कवच र कानमा कुण्डल भएसम्म कसैले मार्न नसक्ने बरदान प्राप्त सूर्यपुत्र कर्णले महाभारतको युद्ध लड्ने निश्चित भएपछि धर्मयुद्धमा पाण्डव पक्षको हार नहोस् भनेर भगवान विष्णुले स्वर्गका राजा इन्द्रलाई जसरी पनि दानका रुपमा कुण्डल र कवच हत्याउने सुझाव दिए।

शास्त्रले भन्छ– अर्जुन सारथी कृष्ण नै भगवान बिष्णुका अवतार थिए। कर्ण महाबलीमात्रै थिएनन्, महादानी पनि थिए। उनको दानी महिमाको फाइदा उठाउँदै गंगा स्नानपश्चात् सूर्यलाई अर्घ चढाएर कुटीमा फर्किँदा योजनाअनुरुप बाटोमा इन्द्रले कवच र कुण्डललाई भिक्षाका रूपमा मागे।

दिउँ मृत्युको निश्चिति तोकिन्छ, नदिउँ आजबाट महादानी कर्णको महिमा झुठमा परिणत हुन्छ। प्राणभन्दा लोकगाथा नै ठूलो भन्ने उक्तिलाई आत्मसात गर्दै अन्ततः उनले इन्द्रलाई रक्षाकवच र कुण्डल दान गरे। सत्य र असत्यको लडाइँ कहिएको महाभारत युद्धमा असत्य हारका लागि उनले आफ्नो सर्वश्व दान गरे। त्यही दान नै उनको चौथो मरण थियो।

युद्धमा आफ्ना सन्तान आमने सामने भएको कुन मातालाई सहय हुन्छ र? आखिर कर्ण पनि कुन्तीपुत्र नै थिए। सूर्यदेवबाट गर्भित कर्णको मृत्यु यस संसारमा कुनै महाबलीबाट सम्भव नभएको माता कुन्तीलाई थाहा थियो, त्यसैले युद्ध समिपिएको बखत कर्णलाई बोलाएर उनले भनिन्– ‘अर्जुन तिम्रा भ्राता हुन्, उनको वध तिमीबाट नहोस्।’

रक्षाकवच र कुण्डल दान गरिसकेका कर्णले आफ्नो मृत्यु आफैँ रोजिसकेका थिए। त्यसैले रत्ति विलम्ब नगरी माता कुन्तीलाई वचन दिए– तिम्रो पाँच सन्तान युद्धमा स–कुशल रहनेछन्। आफैँले दिएको वचन नै उनको पाँचौं मृत्यु थियो। महाभारत युद्धमा कर्णका सारथी शल्य नकुल र सहदेवका साख्खै मामा थिए।

उनी कर्णका सारथी भए पनि पाण्डव पुत्रको मामा भएकाले अर्जुन पक्षधर हुने नै भए। घनघोर युद्ध भइरहँदा कर्णको रथको पाङ्ग्रा हिलोमा धसिन पुग्यो। युद्धरत कर्ण वधको उचित समय यही हो ठान्दै उनले रथ पाङ्ग्रा हिलोबाट उकास्न अस्वीकार गरे। युद्धमा आफैँले दिएको आदेश सारथी सल्यले अस्वीकार गरेपछि उनको ब्रह्मज्ञानले भन्यो– ’मृत्यु समिप छ।’

रथमै चुपचाप बसिरहे म कायर कहलिने छु र जगबाटै महाबलीको ताज खोसिनेछ। धसिएकोरथ पाङ्ग्रा उकास्न जाउँ अर्जुनले वाण चलाउने निश्चित थियो। नजाउँ सारा लोकले मृत्यु भयका कारण रथमा लुकेर प्राण जोगायो भनेर खिसी गर्लान् भन्ने डर। रथबाट भुइँमा नझरे आफ्नो मृत्यु हुनेछैन भन्ने उनलाई थाहा थियो तर लोकका अघि महाबली पदवी रक्षार्थका लागि उनी तल झर्ने निर्णय गरे। यही निर्णय नै उनको छैठौं मृत्युको कारण बन्यो।

हिलोमा धसिएको पाङ्ग्रा उकास्न कर्ण भूइँमा ओर्लिएपछि अर्जुन सारथि कृष्णले आदेश दिए– ’‘बाण चलाउ उपयुक्त मौका यही हो।’ ’उनी ताँदो चलाइरहेका छैनन् गोविन्द! अन्य कार्यका बखत वाण चलाउनु हत्या हुन्छ। पाप हुन्छ। अर्जुन अन्कनाउँदै कृष्णसमक्ष बिन्ती गरे। पाप र धर्मका केहीबेर ब्याख्यापश्चात् अर्जुन बाण चलाउन सहमत भए। अन्ततः त्यही बाणले कर्णको मृत्यु भयो।

महाभारतको कर्ण पात्र उदाहरण दिई ’म कर्णजस्तै हुँ’ भनेर आफूले आफूलाई भन्न खोजेको होइन तर प्रसङ्ग त्यस्तै बनाइयो। महाभारत युद्धमा पाप गरे कसैले, सजाय भोगे कसैले। युद्ध धर्म अधर्मको थियो तर हत्या पापीहरुको मात्रै भएन, लाखौं धर्मीहरुले समेत मृत्युवरण गरे। युद्ध एक राज्यका लागि थियो तर लाखौं राजाले ज्यान गुमाए। महाभारत युद्धमै एक अवोध अभिमन्यु मारिए।

धार्मिक व्याख्याता भन्छन्– युद्ध यस्तै हो। युद्धले बालक बृद्ध भन्दैन। युद्धको परिणाम कि विजय हो कि पराजय हो। सके जित, नसके हार! अन्य विकल्प छैन। युद्धमा एकसेएक महाबली, महारथीहरुले मृत्युवरण गर्छन्। परिणामतः विजयीता जो कोही पनि हुनसक्छन्। महाभारतमा अर्जुनलाई मात खुवाउने एकसेएक महायोद्धाहरु थिए। तैपनि व्यासले अर्जुन पात्रलाई नायक बनाए। उनैलाई विजय गराए।

धर्मयुद्धमा अर्जुनलाई जिताइयो तर उनै पात्र प्रत्यक्ष स्वर्ग जानबाट वञ्चित बने। अर्जुनका लागि देवराज इन्द्र स्वयं भिखारी बने तर उनैलाई जीवितै स्वर्ग लाने धृष्टता गरेनन्। बरु उनका ठाउँमा उनकै जेष्ठ भ्राता युधिष्टिरलाई रोजे।

टीकापुर घटना महाभारत होइन तर बनाउने प्रयत्न गरियो। सात राष्ट्रसेवक प्रहरी एक बालक सहिद हुनुपर्नाको कारण के हो? के तिनको सहादतले न्याय पायो? उक्त घटनाकै कारण अनाहकमा सयौंले मुद्दा खेप्दैछन्। के टीकापुर घटना कसैको व्यक्तिगत निहित स्वार्थ थियो? खोइ, यथार्थ विश्लेषकहरु? कहाँ गए मानव अधिकारकर्मीहरु? वारदात स्थलको यथार्थ रिपोर्ट किन सार्वजनिक गरिँदैन?

महाभारतको युद्धमा सत्य पक्षबाट स्वयं भगवान कृष्ण नै साक्षात थिए। लाखौं राजाहरूको साथ पनि पाण्डव पक्षमा थियो। युद्धभन्दा पहिले र युद्धपश्चात् सत्य असत्यका बारे सयौं बहस चले। युद्धको निष्कर्ष निकालिएको थियो– कुनै पनि घटना कारणले घट्छ र त्यसको यथार्थ छानविनसहित सार्वजनिक हुनुपर्छ। यहाँ त घटनास्थलकै वास्तविकता बुझेर पनि बंग्याउने प्रवृत्तिले प्रश्रय पाइरहेको छ। बाङ्गाहरुलाई विजयी बनाउने प्रयत्न गरिँदैछ। बाङ्गाहरु नै बाहुबलीझैँ गर्दैछन्। योभन्दा बढी अन्यायको पराकाष्ठा कहाँ होला र?

हामी टीकापुर घटनाको सातौं वर्षमा छौं। न्याय अन्यायको बहस राज्यले चलाइदिएन। थारुहरुलाई केवल अन्यायको भुङ्ग्रोमा पोल्ने चेष्टा गरिँदैछ। उक्त घटना घटेदेखि आजसम्म हाम्रो एउटै जिकिर छ– न्याय ! न्याय !! न्याय !!!

डिल्लीबजार कारागारमा सँगै रहँदा पूर्वसभामुख कृष्णबहादुर महराले एक दिन मलाई सम्झाउँदै भनेका थिए– ’रेशमजी, तपाईँ दोषी हो कि निर्दोष हो, राज्यलाई थाहा छ। यथार्थ कटु सत्य के हो भने टीकापुर घटना नभएको भए राज्यले संविधान लेख्न सक्थेन। तपाईँहरुको जीवन प्रतिष्ठा दाउमा लगाएर लेखिएको संविधान आफैँमा अपूरो छ। धैर्य गर्नुस्, न्याय मिल्ला।

कहिले मिल्ला न्याय? स्वास्नी नाङ्गै सहर घुमाएर हुर्मत लिने धम्कीका कारण आत्महत्या गरिसकेपछि भिमसेन थापा निर्दोष थिए भनेर घोषणा गरिएको जस्तो न्याय हो? कि टाउको काटिसकेपछि भिम मल्ल राज्यप्रति बफादार थिए भन्ने राज्यले सफाई दिएजस्तै दिइने न्याय हो। शरीरको अस्तित्व समापनपछिको न्याय, के न्याय? त्यस्तो न्याय इतिहासको अक्षरमा लेखिन त सकिएला तर पीडित परिवार, पुर्खा सबैले अस्वीकृत गर्ने त्यस्तो न्यायको के अस्तित्व? के महत्व?

महराले गाँठी कुरो फुकाउँदै भनेका थिए– त्यो घटना टीकापुरमै घट्छ भन्ने एकीन त थिएन तर स्थिति परिस्थितिले राज्यलाई सहज बनायो होला। योचाहिँ ठोकुवै हो– देशभरि पहिचानको आन्दोलन दन्किएको बेला संविधान लेखनका लागि एक ठूलो दुर्घटना नघटेको भए आफूले इच्छाएका कानुनका धारा उपधारा लेख्न सम्भव थिएन। अहिलेको सात प्रदेश सीमाङ्कनको खाका के जनताले इच्छाएको जस्तै हो त? यी सब स्वार्थपूर्तिका लागि एक निहुँचाहिँ चाहियाथ्यो। त्यो तपाईँहरु हुनुभो! उहाँको कथनमा वास्तविकता लुकेको छ। राज्यको बेवकुफीले दुर्घटित घटनाको जिम्मेवारी हामीलाई कदापी स्वीकार्य छैन।‘

उपयुक्त घटनाको उचित पात्र खोजियो। अखण्ड सुदूरपश्चिम र थरुहटका नाममा दुवै पक्षलाई आमने–सामने गराइयो। एकापट्टी प्रधानमन्त्री, गृहमन्त्री सम्हालिसकेका काबिली दस्ता उभियो। अर्कोपट्टि फेटा बाँधेर पहिचान खोज्नेको भिड। अत्यन्तै परिपक्व राजनीतिक सूत्रका साथ खडा गरिएको अखडामा टाउकेहरुलाई चाहिँ भिडाइएन। बरु रेफ्रीका नाममा राज्य सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मोहरा बनाइयो। पहिचानको फेटा र राज्यका सुरक्षाकर्मी एक आपसमा लडेजस्तै गरे । तर राजनीतिक गणितीय सूत्र अर्कै थियो, दुई दुना चार हातमा लाग्यो एक। कुरा अर्कै काम अर्कै। देखाउने एउटा, गरिने एउटा! कर्म एउटा, परिणाम एउटा!

म कुनै सरकारी कर्मचारी थिइन, न कुनै ठेकेदार नै। कुनै राजनीतिक दलको कार्यकर्ता पनि होइन। तर बच्चैदेखि कर्म गरिरहने! इच्छा, अभिलाषामै कर्म बोकेको मान्छे। जनयुद्धको मध्यमा हेलिकप्टरबाट कमैयालाई राहत वितरण गर्न जाने मूर्ख साहसी! बाढीले बगाएको बाटोमा दिनभर बालुवा बोकेर बहादुरी देखाउने स्वाँठ। बाढी आउँदा होस् या खडेरी पर्दा होस् सहयोगी हात लम्काउनैपर्ने तर ’तेरो शरीरमा कुष्ठरोग लागि जाओस्’जस्तै श्रापित भैरहनुपर्ने भाग्य बोकेको मान्छे। कोही भिड्न खोज्यो भने छाती ठोकी हाल्ने प्रवृत्ति र हजारौं जनाको दुःखमा जाँतोझैँ पिसिरहने। अन्ततः समयको चक्रले त्यही घट्टमा पुर्‍यायो, जहाँ मेरो लोकप्रियता पिठोझैँ पिसियो।

कसैको चम्चागिरी नगर्ने। कसैसँग नझुक्ने। आफ्नै मेहनेत र पौरखको भरमा बाँचिरहने एक लोकप्रिय मनुवासँग राजनीतिक दल र तिनका कारिन्दा सदा त्रस्त रहन्छन्। जे–जस्तो प्रसङ्गको मतलब तानाबाना बुने पनि घटना घट्यो। घटनाबाट उब्जिने परिणामको भयका कारण ती सबै आ–आफ्ना राजनीतिक संगठनका छातामुनि ओत लाग्न पुगे।

म आगोसँग डराएर प्रवासिएको होइन। बिनासित्ती अगुल्टोले झोस्लान् कि भनेर केही पन्छिएको मात्रै थिएँ। झोस्ने र ठोस्ने पात्र नभेट्टाएपछि सहारा बिना ठिङ्ग उभिएको मजस्तो सतिसालमाथि पनि आगो झोसेरै छोडे। सयौं राष्ट्रिय गीतको सर्जक, देउसी भैलो, गाईजात्रा, भजन, लोकगीत, आधुनिक गीतमा संगीत भर्ने एक स्रष्टालाई कृष्ण बनेर राज्यले संरक्षण गर्छ कि भन्ने अभिलाषा थियो। तर, ठ्याक्कै उल्टो, भिम मल्लझैँ न्यायको दैलोमा काटिनुपर्ने हो कि? भन्ने पिर पो छ त। मेरो निर्दोषिताको चित्कार रनबन हुँदै गुञ्जिरहे पनि खोइ, कहिले बन्लान् कृष्ण सारथी? कहिले जितौंला युद्ध र कहिले गरौंला हस्तिनापुरमा राज।

राज्यका हर्ताकर्ताले ईर्ष्याका कारण मलाई अभिमन्यु बनाउन खोजे पनि कपाल काटिरहेका, तरकारी बेचिरहेका, रिक्सा चलाइरहेका, मजदुरी गरिरहेकासँग तिनको के रिसइवी थियो? कि चट्नी स्वादिलो बनाउन धनिया पिसेजस्तो गरिएको हो?

प्रष्टै छ, थारुले आन्दोलन गरे। डिउटीरत सिपाही मरे। अधिकार चाहिने थारुलाई, हक चाहिने थारुलाई। संघीयता चाहिने थारुलाई। हक अधिकार प्राप्तिको निहुँमा जिन्दावाद र मुर्दावादको नारा ओकलिरहेका थारु आन्दोलनका कारण यत्रा विध्न नरसंहार भो। झन् एक अवोध बच्चाको अवशानले चिताको आगोमा घ्यू थपिएझैँ भयो। त्यही लासविहीन चितामा जबर्जस्ती धकेलेर मलाई सहिद बनाउने सपना राज्य सञ्चालकहरुको जरुरै होला। हेर्दै जाऔँ, त्यसरी जबर्जस्ती चितामा धकेलिएर मर्नुभन्दा शानका साथ फाँसी दिए हुन्थ्योजस्तो लाग्छ। बिनाकारण द्वन्द्वकालमा देखाइएको भिडन्तको जस्तै मरनभन्दा शुक्रराजजस्तै शानका साथ सिफलको रुखमा झुण्डिएको मरण लाखौं गुणा वेश!

जिउँदै पोलिदिए पनि बोलिदिने कोही नभएको पात्र। अन्याय भएको देख्दा–देख्दै पनि कसैले न्यायको पक्षमा नलेखिदिने पात्र। जति गुहार गरे पनि मुहार नजोगाइदिने पात्र। प्रतिसोधै प्रतिसोधले घेरिएको एक उपयुक्त अनुहारको खोजी राज्यले गर्दैथियो। त्यो सुदूरपश्चिममा म जतिको उपयुक्त पात्र राज्यका तानाशाहले कहाँ पाउँथे र?

आखिर कमैयालाई मनैया (मान्छे) नदेख्ने सामन्तीहरूको बत्तीसी लक्षणयुक्त पात्र म नै फेला परें। जे गर्दा पनि चर्चामा आउने। कहिले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने। कहिले हात्तीका बथान लगेर फुटबल खेलाउने। राष्ट्रिय– अन्तर्राष्ट्रिय कलाकारहरुलाई एकै मञ्चमा उतार्ने। सबैले जानेका सुनेका चर्चित पात्र रेशम चौधरीलाई उक्त घटनाको मुख्य योजनाकार बनाइदिएपछि एकैछिनमा संसारभरि हलचल मच्चिने नै भयो। मनले रोजेको शत्रुले खोजेको बैरीलाई अचानोमै भेटाउँदा कम्ता खुसी हुँदैनन् महाशत्रु? म तिनैको लागि अष्टमीको विवश बोका हुन पुगें। चाडपर्वकै मुखैमा बली दिने बोको फोकटमा भेट्टाएपछि कम्ता खुसी भएनन् होला राज्यका राजनीतिक पुजारीहरू।

महाभारतको कर्णजस्तै मलाई पनि सातैपटक मारेको अनुभव गर्छु म। तर मलाई रत्तिभर डर र आत्मग्लानी दुवै छैन। किनकि न म उक्त घटनाको दोषी हुँ, न म घटनास्थलमै थिएँ। न मेरो कुनै त्यस्तो प्रकारको आचरण थियो, जसका कारण त्यस्तो घटना घटाउँ। अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। म विगतदेखि वर्तमानसम्म एउटै रटानमा छु– न्याय! न्याय! न्याय!

सरकार आफैँद्वारा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक किन गर्दैन? त्यसभित्रका वास्तविकता बाहिर ल्याउन सरकार स्वयं किन डराइरहेको छ? कुन शक्तिका कारण त्यो प्रतिवेदन सरकारी बाक्सामा थन्किन बाध्य छ? यी यावत प्रश्नको रहस्य एकदिन उजागर होला नै।

कर्णजस्तै ममा भएको असाधारण प्रतिभा र क्षमता नै मेरो पहिलो शत्रु हो। सबै कुरामा दक्ष र पोख्त भएपछि समाज त के सिंगो संसार नै शत्रु हुन जान्छ। आफ्नै आत्मविश्लेषणमा यहाँसम्मको अवस्थाको सिर्जना हुनुमा मेरै आफ्नो प्रतिभा र क्षमता नै होजस्तो लाग्छ।

कक्षा ८ मा पढ्दै गर्दा विद्यालय स्तरबाट प्रकाशित हुने थारु भाषाको पत्रिका ‘जोगनी’को सम्पादक थिएँ म। पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउँदा रेडियो र पत्रपत्रिकामा कमैयासम्बन्धी गीत गाएर, लेख लेखेर, फिल्म बनाएर कमैया आन्दोलनको अभियन्ता नै बनें। हकअधिकार र पहिचानको आन्दोलन मेरो जन्मौटी बरदान हो। देश संघीयतामा जाँदा मैले जानेजतिका कुरा मेरो पिछडिएको वर्ग समुदायलाई बुझाउन खोजें त मैले के बिराएँ? जसले समाज भत्काउनेलाई मञ्चमै हकार्थ्यो। आत्मविश्वासले भरिएको मुट्ठीमै आत्मबल हुन्छ भन्थ्यो। त्यही मान्छेलाई नरसंहारको मुख्य योजनाकारको पगरी गुथाउनु कति न्यायोचित हो? सत्य एक दिन अवश्य छर्लङ्गिनेछ।

टीकापुर घटनापछि मिडिया र सामाजिक सञ्जालहरु यसरी उछालिए कि त्यसको बिनाशी छालबाट उत्पन्न हुने परिणामको बारेमा कसैलाई हेक्का भएन। उक्त घटना अनुसन्धानको नाममा दर्जनौं संघसंस्थाहरु टीकापुर पुगे। निष्पक्ष छानविनका लागि सरकारले लाल आयोग गठन ग¥यो। कोही–कोही व्यक्तिगत पुस्तक लेखनका लागि उचित पात्रको खोजीमा पनि त्यहाँ पुगे तर परिणामतः सब शून्य। न कसैले पुस्तक लेखे, न सरकारी प्रतिवेदन नै सार्वजनिक भयो।

अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ। मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ।

मेरो विजयमा जनताको मत कुनै आस्था, विचार वा व्यक्तिगत पदचापलाई पछयाउँदै परेको होइन। त्यहाँ शासकको निरंकुश नीतिविरुद्धको आक्रोशसमेत मिसिएको छ। जनताको मतमा राज्य शासकप्रति विद्रोहको गन्ध छ। सधैं उत्पीडनमा परिरहेकाले प्रतिकारको दम्भ मिसिएको छ। समस्याको निराकरण नभएसम्म खरानीले छोपिएझैँ देखिए पनि जनआक्रोश फिलिङगोको रुपमा आज पनि जस्ताको तस्तै छ। राजनीतिक हावा हुण्डरी चलिरहने हाम्रो मुलुकमा बेलैमा नबुताए ठूलै ध्वंश नपर्ला भन्न सकिन्न।

कठघरामा उभिएर जति सत्य बकेपनि

न्याय पाउँ भन्दै हजुर सयौंपटक झुकेपनि

निरीह ठान्दा रैछन् शीर निहुराएपछि

दोषी ठहराउँदा रैछन् चुप लागेर बसेपछि

हे श्रीमान! न्याय देउ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देउ तर निर्दोषीलाई थुन्न पाइँदैन

नपत्याउनु श्रीमान कसैले लेखेको

सत्य उही हो छ जसले देखेको

मुखले पोलेर मासु कहाँ पाक्छ?

छल्न खोजे बन्चरोले आफ्नै घुँडो ताक्छ

श्रीमान! न्याय देउ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देउ तर निर्दोषीलाई थुन्न पाइँदैन

जो–जो चोर छन् ठूलै स्वर छ उनको

समाज भाँडिराखे मात्रै चुलो बल्छ उनको

अशान्ति बनाइराखे उनैले राज गर्छन्

उनैले जनता मार्छन् उनै महाराज बन्छन्

श्रीमान ! न्याय देउ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देउ तर निर्दोषीलाई थुन्न पाइँदैन

गीत हाम्रो गुहार होइन, निश्चलीयरूपमा अभिव्यक्त पीडामात्रै हो। कसैले आरोप लगाउँदै अभियोग लेखिदिएकै भरमा जथाभावी नागरिक थुन्न पाइन्छ? राजनीतिक उथलपुथलमा मान्छे मर्न सक्छन् तर न्याय मर्‍यो भने देश मर्छ। देश मरे क्या हुन्छ?

टीकापुर घटनाभन्दा पहिले थारुहरु निकै राष्ट्रवादी र भूमिपुत्रको रुपमा गनिन्थे। अहिले यिनलाई बजिहटको रुपमा गणना गर्छ राज्यले। थारुको आफ्नै इतिहास, संस्कृति, परम्परा र पहिचान छ। यिनले त राज्यसँग समावेशी अधिकार मात्रै मागिरहेका छन्। आफैँले टेकेको, खेलेको, पसिना बगाएको माटोको परिचयमात्रै खोजिरहेका छन्। यिनलाई देशद्रोही बनाएर अपराधीकरण गर्ने हो भने घोर अन्याय हुनेछ।

हजारभन्दा बढी गीत संगीतको सर्जक, दर्जनभन्दा बढी पुस्तकको लेखक, राज्यले राष्ट्रिय प्रतिभा पुरस्कारदेखि गोरखा दक्षिणबाहुसम्म दिने एक भूमिपुत्र थारुलाई विनाकारण दोषी करार कसले कुन राजनीतिक स्वार्थमा गरिरहेको छ? यसको जवाफ राज्यले दिनैपर्छ। होइन भने सरकार! न्याय दिन सक्दैनौं भने टुँडिखेलमा मृत्युदण्ड देऊ। अन्यायपूर्वक दिनदिनै मरिरहनुभन्दा हाँसीहाँसी मृत्यु स्वीकार छ। तर सरकार मेरो मृत्युपछि पिशाच बनेर भड्किने आत्माले पनि धेरै वर्षसम्म न्यायको हुंकार फलाकी रहनेछ ।

साभार : अन्नपूर्ण पोष्ट दैनिकबाट