इंग्लिस प्रिमियर लिग फुटबल: चेल्सी र टोटेनहमको सुखद् सुरुवात।

एजेन्सी := लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई उसकै मैदानमा चेल्सीले १-० गोलअन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा उनले  गोल गरेका थिए।

त्यस्तै, टोटनहमले पनि सुखद् सुरुवात गरेको छ। टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाएका थिए ।