काठमाडौं:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नुभएको छ । अध्यक्ष प्रचण्ड शनिबार बिहान जापान पुग्नुभएको हो ।
टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले स्वागत गर्नुभएको थियो , भने गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी लगायतको पनि स्वागतको लागि सहभागीता रहेको थियो।
पाँच दिने भ्रमणका लागि प्रचण्ड शुक्रबार राति नेपाल एअरलाइन्सको विमानबाट जापान जानुभएको थियो । टोलीमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनुभएको छ ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानुभएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिबलको उद्घाटन गर्दै हुनुहुन्छ ।
त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नु हनेछ । सोही दिन नै नेपाली जनप्रगतिशील मञ्च (जापान)को आयोजनामा टोकियोमा हुने नेपालीबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ। आधुनिक कृषि प्रणालीको विकासबारे समेत फिल्डमै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताइएको छ।
आफ्नो जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने विश्वास प्रचण्डले लिनुभएको छ । प्रचण्ड साउन २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
अध्यक्ष प्रचण्ड भर्खरै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ । विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभयो । pic.twitter.com/atf03yajun
— ☭ Comrade Prachanda (@cmprachanda) August 6, 2022




















