काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टी-२० र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अगष्ट चौथो सातादेखि केन्यामा नै गएर नेपालले उक्त सिरिज खेल्ने भएको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्यासँग खेल्ने पक्का भएको र त्यसको आन्तरिक तयारी थालिएको जनाउनुभएको छ । उहाँले एकिन मितिका बारेमा छलफल जारी रहे पनि अगष्ट चौथो सातादेखि सिरिज हुने जनाउनुभएको छ । सोही समयमा नेपाली कप्तान सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल)का खेलहरू पनि रहेकाले उक्त समय पनि मिलाउने प्रयास भइरहेको क्यानले जनाएको छ । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।
केन्या एसोसिएट टोलीको सर्वाधिक सफल देश हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसीय विश्वकप खेलेको थियो । केन्याले सन् २००० देखि २००४ सम्म गरी तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।
नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङ्कङ, इटाली, बर्मुडा, जर्सी र युगाण्डा छन् ।
सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने प्रावधान रहेकाले नेपालका लागि केन्यासँगको सिरिज महत्वपूर्ण हुनेछ । वरियता २०२२ नोभेम्बर १४ सम्मलाई आधार मानिनेछ । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपबाट शीर्ष आठ टोली सोझै छनोट हुने छन् ।
टी-२० वरियतामा ती आठ देशबाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । अमेरिका र वेष्टइण्डिज सोझै छनोट भएका छन् । यदि वेष्टइण्डिज शीर्ष आठमा परेको खण्डमा वरीयताबाट थप तीन टोलीले विश्वकप खेल्न पाउनेछन्। नेपाल हाल टी-२० आई वरियता भने १३औं स्थानमा छ । १२औं स्थानमा युएई, जिम्बावे ११औं, बंगलादेश १० औं, नवौं स्थानमा अफगानिस्तान छन् ।
केन्यासँग सिरिज हुने भएपछि नेपाली खेलाडीसमेत उत्साहित छन् । नेपालको एकदिवसीय स्टाटसका लागि यो सिरिज महत्वपूर्ण हुने कप्तान सन्दीप लामिछाने बताउनुहुन्छ । केन्याविरुद्ध सकरात्मक नतिजाले नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।




















