लोप हुन लाग्यो रानाथारू समुदायको साउने डोला।

[ -राजेन्द्र भट्ट ] 

महेन्द्रनगर:= सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका रानाथारू समुदायले पुर्खौँदेखि साउने डोला अर्थात तीज पर्व मनाउँदै आएका छन्। तर, रानाथारू समुदायलाई यो पर्व जीवित राख्न अहिले सकस नै छ।

रानाथारू समुदायको परम्परागत प्रमुख चाडपर्वमध्येको एक पर्व हो, साउने डोला। समय परिवेशले गर्दा आधुनिकतातर्फ मोहित हुँदै गएको नयाँपुस्ताले पर्वको रौनक नै हराएको समुदायका पाकाको अनुभुति छ। पुर्खाले वर्षौँदेखि जीवित राखेको परम्परा र संस्कृति अहिले ओझेलमा पर्दै गएकोमा अग्रजहरू चिन्तित छन्। साउन तृतीयाका दिन भीमदत्त नगरपालिका -१४ र १६ मा स्थायी बसोबास गर्ने चार दर्जन बढी रानाथारू परिवारको समुदायका लागि स्वभाविक उदाहरण बन्यो, साउने डोला।

तीन दशकअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा भीमदत्त नगरपालिकाको पश्चिम दक्षिणमा सट्टाभर्ना बसाइँ सरी आएका रानाथारू परिवारलाई यतिबेला आफ्नो मौलिक पहिचान जोगाउन हम्मे परेको छ। नयाँपुस्तामा आधुनिक मोहको पारो चढ्न थालेपछि परम्परागत भेषभुषा चाडपर्वमा पनि दुर्लभ भएका छन्। जसले गर्दा पर्वको मौलिकता नै हराउँदै गएको ६८ बर्षीया भज्जोदेवी राना बताउनुहुन्छ। ‘हाम्रो पालाको जस्तो अहिले छैन, पहिले धेरै चहलपहल हुन्थ्यो।’ विगत सम्झदैँ भज्जोदेविले थप्नुभयो, ‘अहिले सबै सुस्त भएका छन्, पर्वको दिनपनि एक ठाउँ आउन मान्दैन।’

रानाथारू समुदायले साउनको सुरुवातदेखि यो पर्व मनाउँछन्। साउन तृतीयाका दिन महिलाहरू दाजुभाइको दिर्घायुका लागि यो व्रत बस्ने चलन छ। ‘सबै महिला दिदीबहिनीहरू आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै यस दिन व्रत बस्छन्, डोला (पिङ) मा गीत गाउँदै रमाउँछन्, साँझ नजिकको नदिमा गएर पुजा गर्छन र त्यसपछि खाना खाने चलन छ।’ रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम राना भन्नुहुन्छ, ‘अहिले परम्परा र संस्कृति जोगाउनै गाह्रो भएको छ। डोला हराइसक्यो भने पनि हुन्छ। होमस्टे सञ्चालनमा आएपछि जसोतसो पर्व मनाउँने गरेका छौं।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बसोबास भएकाले यहाँ आउने पर्यटकलाई लोभ्याउन उनीहरूले केही वर्ष यता डोला निर्माणगरी प्रदर्शन गर्दै आएका छन्।

विगतमा हर्षोल्लासका साथ मनाइने तीजमा अचेल फिक्कापन आउँदै गरको छ। परम्परागत भेषभुषा पर्वका दिन पनि देख्न दुर्लभ भएको छ। पछिल्लो पुस्तामा आधुनिक पहिरनको मोह बढेपछि मौलिक पहिरन पर्वमा मात्रै समिति हुन थालेको रानाथारू होमस्टेका अध्यक्ष राना भन्नुहुन्छ। ‘अचेलका युवालाई आफ्नो मौलिक र परम्परागत पर्वप्रति खासै चासो छैन्, आधुनिकतामा हाम्रो संस्कृति र परम्परा विलीन हुँदै गएको छ।’ उहाँले थप्नुभयो।

रानाथारू समुदायको साउनको तिज दोस्रो ठूलो पर्व हो। यसबाहेक दिपावली, होली र जन्माष्टमी यो समुदायले ठूला पर्वका रुपमा मनाउने गरेका छन्। ‘रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व होली हो। त्यसपछिको साउनको तीज नै हो ।’ रानाथारू होस्टेका सचिव चेतराम रानाले भन्नुभयो, ‘अहिले डोला पर्वलाई निरन्तरता दिननै गाह्रो भएको छ। अहिलेका पुस्तालाई आधुनिकताले लोभ्याउन थालेको छ।’

यसका पछाडि डोलाको निर्माण गर्न सहज नभएको औँल्याउदै रानाथारू होस्टेका सचिव रानाले भन्नुभयो, ‘डोला बनाउन काठ नै पाउँदैन। पहिले जङ्गलबाट आफै चाहिने जति काठ ल्याएर डोला बनाउँथ्यौं।’ करिब ४५ परिवार रानाथारूको बसोबास रहेको नयाँ कटान क्षेत्रमा मात्रै नभएर अन्यत्रपनि यस समुदायको डोला पर्व ओझेलमा पर्दै गएको छ। काठको सहज उपलब्धता नहुँदा वैकल्पिक उपाय अपनाउनु परेको उहाँको दुखेसो छ।

हरेक वर्ष साउनमा यो समुदायले नयाँ डोला बनाउँछन्। यहाँ बसाइँ सरेको केही वर्षपछि डोला बनाउन नै छाडेको जानकारी गराउँदै रानाथारू होमस्टेका अध्यक्ष रानाले भन्नुभयो, ‘छ वर्ष भयो डोला पर्व मनाउन थालेका छौं। होमस्टेमा रानाथारू संस्कृतिको माग भएपछि जसोतसो डोला बनाएर पाहुनालाई आफ्नो कलासंस्कृति देखाउने गरेका छौं।’

डोलासँगै रानाथारूको पहिरनसमेत आधुनिकताले आफूभित्र समाहित गर्दै गएको देखिन्छ। विगतमा पहिरनबाट चिनिएको यो समुदाय अहिले आधुनिक पहिरन तिर आकर्षित छन्। वृद्धा भज्जोदेवी भन्नुहुन्छ, ‘अहिले केही घरमा मात्रै अगिया र घघिया छन्।’ सांस्कृतिक समारोह, विवाह भोजभतेर र चाडपर्वमा परम्परागत यस समुदायका युवापुस्ताले परम्परागत पहिरन लगाएका देखिन्छन्।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार