जंगली रातो च्याउ खाँदा ११ जना बिरामी, चारजना गम्भीर।

रसुवा := उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाँदा ११ जना बिरामी भएका छन् । जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेको जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुले जानकारी दिनुभएको छ।

उनीहरूलाई थप उपचारार्थ त्रिशुली अस्पताल रिफर गरिएको छ । उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको बताइएको छ।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् । तर दैनिक जसो जंगली च्याउका कारण सर्वसाधारण गम्भीरदेखि मृत्युको मुखमासम्म पुग्ने गरेका छन्।