भारत:= साफ यू २० च्याम्पियनसीप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरमा सम्पन्न खेलमा श्रीलंकामाथि ३-० को जित निकालेसँगै नेपाल लगातार दुई खेलमा विजयी भएको हो।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिशरत्न छोन्जु र मनग्य नकर्मीले गोल गरेको थियो। नेपालले ५८औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएका थियो । अभिषेक वाइबाले दायाँ कर्नरबाट गरेको क्रसलाई श्रीलंकाका गोलकिपरले पन्च गरेर क्लियर गर्नुभएको थियो ।
जुन बल आयुषको खुट्टामा गएको थियो । रिबाउन्डमा प्राप्त बललाई आयुषले कुनै गल्ति नगरी गोलमा परिणत गर्नुभएको थियो ।६३औँ मिनेटमा कृतिशरत्नले नेपालको अग्रता दोब्बर बनाउनुभयो । आयुषले दिएको ब्याक पासमा कृतिशरत्नले १८ यार्ड बक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।

जारी प्रतियोगितामा कृतिशरत्नको यो दोस्रो गोल हो । कृतिशरत्नले माल्दिभ्सविरुद्धको पहिलो खेलमा पनि गोल गर्नुभएको थियो । ८३औँ मिनेटमा वैकल्पिक खेलाडी मनग्य नकर्मीले तेस्रो गोल थप्नुभएको थियो । मनग्यले सुगम सुवालको क्रसलाई पोष्टको दिशा दिनुभएको थियो।मनग्य सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
मनग्यको पनि यो दोस्रो गोल हो । उहाँले माल्दिभ्सविरुद्ध पनि गोल गर्नुभएको थियो । ३५औँ मिनेटमा रंगशालाको बत्तीमा समस्या आएपछि केहीबेर रोकिएको थियो । झण्डै पाँच मिनेटपछि खेल पुनः सुरु भएको थियो ।
नेपाल यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । जितसँगै नेपाल शीर्ष स्थानमा पुगेको छ । नेपाल र बंगलादेशको समान ६ अंक भए पनि गोलअन्तरमा नेपाल शीर्ष स्थानमा रहेको हो । बंगलादेशले बुधबार साविक विजेता भारतलाई २-१ ले हराएको थियो । नेपालले अब आइतबार भारतविरुद्ध खेल्नेछ । श्रीलंकाले माल्दिभ्सविरुद्ध खेल्नेछ ।




















