[ पूर्ण चलाउने ]
एजेन्सी (टोकियो):= नेपाली कला संस्कृतिलाई जापानीजहरु माझ चिनाउने उद्धेश्यले टोकियोमा १२ औ नेपाल फेस्टिवलको आयोजना गरिएको छ । टोकियोको नाकानो स्थित ‘सिकीनो मोरी’ पार्कमा जुलाई ३० र ३१ तारिख चल्ने उक्त फेस्टिवल गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको हो । फेस्टिवल बिहान १० बजेदेखि साझ ७ बजे सम्म चल्नेछ ।
फेस्टिवलमा नेपाली कला संस्कृति झल्किने बिभिन्न गीत, संगीत, नृत्य तथा झाँकी प्रस्तुत गरिनेछ । नेपालका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकिय स्थलका साथै नेपाली भेषभूषा तथा नेपाली खानाको प्रचार पनि जापानीहरु माझ यस फेस्टिवलमा गरिनेछ । उक्त फेस्टिवलमा नेपाली खानाका स्टलहरुका साथै अरु बिभिन्न सेवाप्रदायक कम्पनीहरुको स्टलहरु रहनेछन ।
फेस्टिवलको सबै तयारी पुरा भईसकेको आयोजक संस्था गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिनुभयो । ‘बिगतका फेस्टिवलमा भएका कमीकमजोरीलाई ध्यान दिदै यस पटक थप ब्यवस्थित तथा आकर्षक बनाउछौ।’ फेस्टिवल प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले भन्नुभयो ।
स्वयंसेवक संयोजक तथा एनआरएनए जापानका यूवा संयोजक राकेस रुम्बाले फेस्टिवललाई ब्यवस्थित गर्न पर्याप्त स्वयंसेवकहरुको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।फेस्टिवलमा बेचिने खानाको गुणस्तरको लागि एनआरएनए जापानकी महिला संयोजक अन्जु भण्डारीको संयोजनमा एक बिभाग बनाइएको छ जसले गुणस्तरहिन खाना बिक्री बितरणमा आवश्यक कारबाही गर्नेछ ।
नेपाल फेस्टिवलको आयोजना भईरहदा पछिल्लो समय टोकियोमा कोरोना संक्रमण भने बढिरहेको छ । संक्रमणका बीच नेपाल फेस्टिवल त्यति प्रभावकारी नहुने टिका टिप्पणी पनि जापानका नेपालीहरुले सामाजिक संजालमा गरिरहेको पाईन्छ ।
‘बढ्दो कोरोना संक्रमणकाबीच नेपाल फेस्टिवल आयोजना गरिनु सकारात्मक पक्ष होइन समयमै सोचौ’, जापानमा संचारकर्मीका रुपमा चिनिने तथा पत्रकार महासंघ जापानका सचिब शान्त पहरीले आफ्नो फेसबुक स्टेटसमा लेख्नुभएको छ। जापानमा संक्रमण बढेपनि जापान सरकारले तत्काल कुनै नयाँ मापदण्ड भने लागु गरेको छैन ।




















