एजेन्सी (लन्डन):= सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ दि-इअरको अवार्ड जित्नुभएको छ । चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी र लिभरपुलका पूर्वसहयात्री इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उहाँले यो अवार्ड जित्नुभएको हो।
कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले आयोजना गरेको अवार्ड समारोहमा मानेले दोस्रो पटक यो अवार्ड जित्नुभएको हो। अफ्रिका कप अफ नेसन्सको फाइनलमा मानेले इजिप्टविरुद्ध विजयी पेनाल्टी गोल गर्नुभएको थियो । सोही विजयी गोल मद्दतमा सेनेगलले पहिलोपटक उपाधि जितेको हो।
‘यस वर्ष ट्रफी पाउँदा म धेरै खुसी छु,’ ३० वर्षीय मानेले अवार्ड जितेपछि भन्नुभयो, ‘म सेनेगलका जनतालाई धन्यवाद दिन्छु र यो ट्रफी मेरो देशका युवाहरूलाई समर्पण गर्दछु ।’
मानेसँगै सेनेगलका प्रशिक्षक अलिउ सिसेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नुभयो । सेनेगल वर्षको उत्कृष्ट टोली घोषणा भयो । सेनेगलकै पापे सार वर्षको युवा खेलाडी घोषित हुनुभयो । पापे उस्माने साखोले तान्जानियाविरुद्ध गरेको ओभरहेड किक गोल उत्कृष्ट गोल भएपछि अवार्ड जित्नुभयो।
कोरोना भाइरस महामारीको तीन वर्षपछि यो अवार्ड आयोजना हुँदा महिलातर्फ नाइजेरियाकी एसिसात ओशोलाले लगातार दोस्रो वर्ष यो अवार्ड जित्न सफल हुुनुभएको हो । त्यसबाहेक वर्ष उत्कृष्ट प्रशिक्षक (महिला), डेसेरी एलिस (दक्षिण अफ्रिका), वर्ष युवा खेलाडी (महिला) एभलिन बाडु (घाना) ले जित्नुभयो।




















