अन्ततः नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित।

काठमाडौं := नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।

विधेयकमा ४५ सांसदले संशोधन दर्ता  गरेका थिए। संशोधन परेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए । पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ। राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ।

नागरिकता विधेयकको प्रावधानको मूल प्रस्ताव पारित हुँदा प्रमुख प्रतिपक्ष दल मौन बसेको थियो। भीम रावल लगायतका एमालेका केही सांसदले भने विपक्षमा मत दिए। ध्वनिमतका आधारमा विधेयक पारित भएको हो।

पारित विधेयकले जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खोलेको छ। यस्तै गैरआवासीय नेपालीले नागरिकता पाउने कानुनी आधार भएको छ। आमाको नामबाट नागरिकता पाउने बाटो पनि खोलेको छ।

यस्तै, संशोधनमार्फत सरकारले आमा वा बाबुको थर रोज्न पाउने सुविधा पनि स्वीकार गरेको छ। यस्तै, ठेगाना रोज्न पाउने सुविधा पनि सरकारले स्वीकार गरेको छ। जस अनुसार नागरिकता लिने व्यक्तिले अब आमा वा बाबुको थर रोजेर नागरिकता पाउने छन्। यस्तै, ठेगाना पनि रोज्न पाउने छन्।