काठमाडौं:= सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नु भएको छ। मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताउनु भएको हो ।
बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिनु भएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले जाने बेलामा आफू अझ बढि हाँसेर जाने बताउनु भयो । मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरी रहि रहदिन । त्यसै म जसरी हाँसेर आएको छु । जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु ।’
त्यस अवसरमा मन्त्री चौंधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अव सार्वजनिक गर्ने उहाँको भनाई थियो ।



















