चलचित्र ‘प्रकाश’ रिलिज हुने तयारीमा, प्रदीप भन्छ्न् :नयाँ जन्म भएजस्तो लाग्यो।

काठमाडौं:= आउँदो भदौ १० गतेबाट युवास्टार प्रदीप खड्काको अभिनयमा रहेको चलचित्र ‘प्रकाश’ रिलिज हुने तयारीमा छ । यसअघिको हिट चलचित्र प्रेमगीतमा अभिनेता प्रदीप जस्तो भूमिकामा देखिनुभएको थियो त्यो भन्दा निकै फरक भूमिका देखिँदै हुनुहुन्छ ।

यसैबीच मंगलबार चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता प्रदीप खड्काले चलचित्रसँग सम्बन्धित आफ्नो भनाइ राख्नुभयो । चलचित्रमा काम गर्दाको अनुभव साट्नुभयो । चलचित्र चलाउनकै लागि विभिन्न फण्डा गर्ने चलन नेपाली कलाकर्मीमा छन् । उदाहरणका लागि गएका साता प्रदर्शनमा आएको सम्झना बिर्सनाका दुई मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठलाई लिन सकिन्छ ।

हलमा फ्यानहरू बटुलेर नारा लगाइरहेका बेला आफ्नो नाममा नारा नलगाएको भन्दै अभिनेत्री पूजाले आक्रोश व्यक्त गर्नुभएको थियो । यसैबीच विभिन्न माया प्रेमका फण्डा गरेर चलचित्र चल्छ भन्ने प्रश्नमा प्रदीप खड्काले चलचित्र चल्न चलचित्र नै राम्रो हुनुपर्ने तर्क राख्नुभयो । ‘चलचित्र चलाउन फण्डा गरेरमात्र हुँदैन ।

सर्वप्रथम चलचित्र नै राम्रो हुनुपर्छ । त्यस्ता किसिमका फण्डाले केही दिन दर्शकको ध्यान तान्न सकिन्छ होला तर चलचित्र आफैँमा राम्रो भएमा मात्रै चलचित्र सफल हुन्छ जस्तो लाग्छ’, अभिनेता प्रदीपले भन्नुभयो, ‘नेपाली समाजमा यस्ता फण्डाले केही हदसम्म इमोसनल बनाउँछ । त्यसलाई पनि पूर्णरूपमा नराम्रो मान्न मिल्दैन ।’

अभिनेता प्रदीपले आफूले अहिलेसम्मकै फरक भूमिका निभाएका कारण नयाँ जन्म भएको जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो चलचित्रमा काम गरेदेखि मेरो पनि नयाँ जन्म भएजस्तो लागेको छ ।’ यस्तै प्रदीपलाई आउँदो दशैँको छेकोमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’का लागि समय दिनुहुन्छ कि ‘प्रकाश’का लागि भन्ने प्रश्नमा अबको एक महिना चलचित्र ‘प्रकाश’का लागि आफूले समय छुट्टयाएको बताउनुभयो ।

यस्तै सोही कार्यक्रममा अभिनेता प्रदीपलाई भेट्न फ्यानहरू हलसम्म आएका थिए । हलमै प्रदीपको नाममा नाराबाजी गरिरहेको देखिन्थ्यो । ट्रेलर सार्वजनिक कार्यक्रममा नवअभिनेत्री रेनु योगीले आफूले ठूलो अवसर पाएको बताउनुभयो । यसै चलचित्रबाट डेब्यु गर्नुभएकी रेणु भन्नुहुन्छ, ‘चलचित्रमा काम गर्ने मेरो सपना हो । त्यो पूरा भएको छ । मेरो लागि थिएटर एउटा स्कुल थियो । जहाँ पढेर आज काम गर्न पाएकी छु । मलाई विश्वास गर्नुहुने चलचित्रको टिमप्रति विशेष धन्यवाद दिन चाहन्छु ।’

कलाकार दीया मास्केले आफ्ना लागि प्रकाशमा गरेको भूमिका ‘च्यालेन्जिङ’ रहेको बताउनुभयो । उहाँले अहिलेसम्मकै फरक भूमिकामा काम गरेको बताउनुभयो । चलचित्रका निर्देशक दिनेश राउतले फरक धारको चलचित्रमा काम गरेको बताउनुभयो ।

प्रदीप खड्काको स्टारडर्मलाई रिक्समा राख्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्देशन राउत भन्नुहुन्छ, ‘मैले प्रदीपलाई एक धारबाट अर्को धारमा लैजाने प्रयास गरेको हुँ र राम्रोकै लागि गरेको हुँ । प्रदीपलाई यसअघि जुन किसिमका फ्यानले माया गरेका थिए तिनै फ्यानले प्रकाशमा गरेको भूमिकालाई लिएर खुशी व्यक्त गरिरहेका छन् । त्यो मेरो खुशीको कुरा हो ।’

चलचित्रका निर्माता महेन्द्र अधिकारीले चलचित्र व्यावसायिक बताइएको र आफूले चलचित्र निर्माण टिम र कलाकार वेष्ट रोजेको भन्दै कलाकार तथा निर्माण टिमको प्रशंशा गर्नुभयो । चलचित्रको कथा विकाश सुवेदीले लेख्नुभएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको अभिनय छ । बिनिस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत छ ।