मेयर बालेनले दुई मिडियाविरुद्ध कारवाहीको मागसहित प्रेस काउन्सिलमा दिए उजुरी।

काठमाडौं := काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरुद्ध कारवाहीको मागगर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।

२०७९/८० को बजेट कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार सम्प्रेषण गराउने नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमाथि पत्रकार आचारसंहिता २०७३ (संशोधित २०७६ सहित) को दफा ७ बमोजिम कारबाही गर्न साउन १ गते काउन्सिल पुगेर मेयर बालेनले उजुरी दर्ता गरेका हुन् ।

केही दिनअघि महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए।

मेयर साहले दर्ता गराएको उजुरीमा भनिएको छ, ‘नेपाल समाचारपत्र र हिमालय टेलिभिजन काठमाडौं महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्धेश्यले बजेट विनियोजन गरेको भन्ने भ्रामक र तथ्यहीन समाचार प्रकाशन र प्रशारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित) को दफा ४ बमोजिम कर्तव्य पालना नगरेको देखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालय टेलिभिजनलाई क्षतिपूर्तिसहितको कारबाही माग गर्दछु ।’