मलेसियामा पुनः कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टाभित्र ७ जनाको मृत्यु।

क्वालालम्पुर(मलेसिया):= मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ ।

मलेसियामा अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक कोरोना सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् ।

यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेको भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन सुझाव दिएका छन् । रासस