पूर्वअर्थमन्त्री प्रकरण: सीसीटीभी फुटेजबारे विज्ञसँग छलफल गर्दै छानबिन समिति।

काठमाडौं:= बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न गठित समितिको बैठक आज पनि बस्दैछ । समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दैछ । झन्डै सात दिन लगातार सक्रिय भए पनि समितिले अनधिकृत व्यक्ति प्रवेश प्रमाणित हुने वा प्रवेश नगराएको प्रमाणित हुने कुनै आधार फेला पार्न सकेको छैन ।

मेटिएको सीसीटीभी दृश्य फिर्ता ल्याउने प्रविधिका विषयमा सोमबारदेखि समितिले सूचना प्रविधि विज्ञसँग परामर्श गरिरहेको छ । प्राविधिक तथा विज्ञसँग छलफल गरेर मात्रै पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने समितिको तयारी छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो।

सोमबारको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिले जनाएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मंगलबारदेखि काम थालेको थियो। समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो।

जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ । जेठको रेकर्ड नभएको तथा डिलिट भएको जस्ता बयान मन्त्रालयका कर्मचारीहरूले दिएका छन् ।