मलेसियामा ब्लड क्यान्सरबाट पीडित नेपाली श्रमिक सन्तोष बिष्टको अकालमै मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत ब्लड क्यान्सरबाट पीडित नेपाली श्रमिक सन्तोष बिष्टको निधन भएको छ।

नेपालको पुरानो ठेगाना भोजपुर जिल्ला मानेभञ्ज्याङ् निवासी  नयाँ ठेगाना बसाइँसराइ गरि सुनसरी जिल्ला बराहक्षेत्र वडा नम्बर ८ मा बसोबास गर्ने अन्दाजी ३१ बर्षिय सन्तोष बिष्टको बुधबार दिउँसो मलेसियाकै स्थानीय अस्पतालमा उपचाररत रहेकै बेलामा निधन भएको मृतक सन्तोषसंगै काम गर्ने र अस्पतालमा पनि संगै गएका एक नेपाली श्रमिकले जानकारी दिनुभयो।

बिगत ३ बर्षदेखि मलेसिया रोजगारीमा रहेर काम गर्दै आएका मृतक सन्तोष पहिले आएको रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक हैसियतमा रहि पछिल्लो केहि बर्षदेखि अर्को एक म्यानुफ्याक्चरिङ कम्पनीसंग आबद्ध भैइ काम गरिरहेका थिए।

सन्तोषले मलेसिया सरकारले गत बर्ष दिइएको अवैधानिक विदेशी श्रमिक वैधानिक बन्न पाउने (रिक्यालिब्रेशन तेनागा केर्जा ) रिहाइरिङ् नामक कार्यक्रमको अवसरको सदुपयोग गरि वैधानिक बन्नलाई हाल कार्यरत रहेको रोजगारदाता कम्पनीको सहकार्यमा फिङ्गरिङ समेत गरिसकेको र कम्पनीलाई भिसा लगाईदिने बापत्तको रकम आरएम ८ हजार रिंगेट समेत बुझाइसकेको नाम नखुलाउने सर्तमा सोही म्यानुफ्याक्क्जरिङ कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले मलाया खबरलाई जानकारी दिनुभयो।

बिडम्बना त के भने , सन्तोष आफैंलाई पनि थाहा थिएन कि ऊनी ब्लड क्यान्सरबाट पीडित हुन भनेर , तर हिजो बुधबार मृत्यु हुनुभन्दा दुईहप्ता अगाडि मात्रै अस्पतालमा चेकजाँच गराएपछि मेडिकल रिपोर्टमा आफू ब्लड क्यान्सरबाट पीडित रहेको र स्वास्थ्य पनि एकदमै जटिल अवस्थामा पुगिसकेको अस्पतालका डाक्टरलाई उद्धत गर्दै उनको साथीले जानकारी दिनुभयो।

हिजो बिहानसम्म जिउँदै रहेका सन्तोषलाई घर फर्काउन रोजगारदाता कम्पनीले आवश्यक पर्ने मलेसियाली अध्यागमन बिभागबाट स्वीकृति समेत लिइसकेको र आजै बिहिवार स्वदेश फर्काउने तयारी समेत कम्पनीले गरिसकेको थियो। तर बिडम्बना निज सन्तोषको निधन मलेसियाकै अस्पतालमा भयो र अब मृत शव बनेर बाकसमा नेपाल घर फर्किनुपर्नेभयो।

मृतक सन्तोषको शव अहिले अस्पतालमै राखिएको र थप पोस्टमार्टम भैइरहेको छ। साथै पोस्टमार्टम सकिएपश्चात अन्तिम दाहसंस्कारको लागि शवलाई घर फर्काउने प्रक्रिया समेत अगाडि बढाइएको कम्पनी स्रोतले जानकारी दिनुभयो।