अवैध सुन कारोबारको कसुरमा कैयौं व्यक्तिविरुद्ध मुद्दा दायर।

काठमाडौं:= राजस्व अनसुन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा महानगरपालिका-१५ रामबजार वस्ने २५ वर्षीय रमेश सुनार, सिद्धार्थ नगर नगरपालिका-८ स्थायी ठेगाना भई टोखा नगरपालिका-६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता विकले समेत सुनको अवैध कारोबार गरी राजस्व छली गरेको विभागले जनाएको छ ।

२०७८ माघ १५ गते पोखरा महानगरपालिका-३० स्थित पावरहाउस चोकबाट जिल्ला प्रहरी कार्यालय कास्कीले काँचो सुन १००७.७० ग्रामसहित पोखरा महानगरपालिका-१५ रामबजार बस्ने रमेश सुनारलाई पक्राउ गरी विभागमा बुझाएकोमा उक्त सुन टोखा नगरपालिका धापासीस्थित गणेश ज्वेलर्सका सञ्चालक सुनिता विकसमेतले अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको विभागको भनाइ छ ।

बरामद सुनजस्तो पहेँलो धातु परीक्षण गर्दा उक्त धातु सुन रहेको र तौल गर्दा १००७.७० ग्राम रहेको तथा शुद्धता ९९९.९ सुन भएको नदेखिएको बताइएको छ । चोरीपैठारी भएको सुनलाई गालेर अवैध ओसारपसार गरेको, बैंक तथा दर्ता रहेको फर्मबाट सुन खरिद नगरी अन्यत्रैबाट सुन चोरीपैठारी गरी वैधानिक रूपमा काँचो सुन खरिद गरेको प्रमाण पेश गर्न नसकेकाले सुनिता विक र रमेश सुनारले आपसी मिलेमतोमा सुनको चोरीपैठारी र ओसारपसार गरी प्रचलित कानुनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नबुझाएर राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।

बरामद सुनको परिमाण १००७.७० ग्रामको जम्मा मूल्य ८० लाख एक सय ३० रुपैयाँ ३० पैसा विगो कायम गरी बरामद सुन जफतको मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।